काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनावका बीच विश्वका विभिन्न देशबाट खाली तेल ट्यांकरहरू तेल भर्नका लागि अमेरिकातर्फ आइरहेको दाबी गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै उनले अमेरिकाको तेल भण्डार विश्वकै उत्कृष्ट रहेको र यसले विश्वव्यापी मागलाई सम्बोधन गरिरहेको उल्लेख गरे ।
इरानसँगको युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध र मूल्य वृद्धि भइरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो । उनले लेखेका छन्, ‘अचम्मको कुरा के छ भने, विश्वका ठूला र खाली तेल ट्यांकरहरू अहिले अमेरिकातर्फ आइरहेका छन्, जहाँ उनीहरू यहाँको उत्कृष्ट र स्विटेस्ट तेल भर्न चाहन्छन् ।’
राष्ट्रपति ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलडमरू मार्गलाई अमेरिकी सेनाले सफा गर्ने (क्लियरिङ) प्रक्रिया सुरु गरेको समेत बताए । इरानले उक्त मार्गमा बिछ्याएका माइनहरू र अवरोधहरू हटाउन अमेरिकाले नेतृत्व लिइरहेको उनको दाबी छ ।
चीन, जापान, दक्षिण कोरिया, फ्रान्स र जर्मनी जस्ता देशहरूको नाम लिँदै ट्रम्पले ती देशहरूको हितका लागि अमेरिकाले यो जोखिमपूर्ण काम गरिरहेको बताए । ‘ती देशहरूसँग आफैं यस्तो कार्य गर्ने साहस वा इच्छाशक्ति छैन, त्यसैले हामीले यो सहयोग गरिरहेका छौं,’ उनले भने ।
एक महिनाभन्दा बढी समयदेखि जारी यो द्वन्द्वले विश्व अर्थतन्त्रमै असर परेपछि अहिले दीर्घकालीन युद्धविरामका लागि कूटनीतिक पहलहरू तीव्र पारिएका छन् । यसै सिलसिलामा अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू पाकिस्तानको राजधानी इस्लामावादमा भेटेर औपचारिक वार्ता सुरु गरेका छन् ।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानी टोलीको नेतृत्व त्यहाँका सभामुख मोहम्मद बागेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरिरहेका छन् ।