वायु प्रदूषणका कारण नेपालमा बर्सेनि ४० हजार बढीको मृत्यु, विद्युतीय ऊर्जामा जोड दिन आग्रह

काठमाडौं । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले आज हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरणको प्रयोग गर्न सुझाव दिएका हुन् । 

वातावरणविद् भुषण तुलाधरले घरमा हुने वायु प्रदूषण घटाउन भान्सामा ग्यासको सट्टा विद्युत् प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले प्लास्टिकलगायतका फोहर नजलाउन, औद्योगिक क्षेत्र र धेरै प्रदूषण हुने स्थानमा जाँदा तथा हिँडडुल गर्दा मास्कको प्रयोग गर्न सुझाव दिए ।

वातावरणविद् शिलशिला आचार्यले परम्परागत ज्ञान र सीपलाई आधार मानेर अभ्यासमा ल्याउन सके वातावरण संरक्षणमा टेवा पुग्ने धारणा राखे । उनले वातावरणलाई स्वास्थ र समाजसँग जोडेर अघि बढ्न आवश्यक रहेको बताए । 

समाजका अध्यक्ष महेशकुमार श्रेष्ठले स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृतिका विषयमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बताए ।

समाजका उपाध्यक्ष एवं शिक्षाविद् उत्तमराज त्रिपाठी र महासचिव इञ्जिनियर मोहन पौडेलले वातावरण संरक्षण र प्रदूषण कम गरी जीवन्त हाँडीगाउँ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिए । 

कार्यक्रममा भान्सामा ग्यासको सट्टा विद्युत्को प्रयोग बढाउन सके तुलनात्मक रूपमा खर्च कम हुने र वायु प्रदूषण कम हुनेबारे जानकारी दिइएको थियो ।

यस्तै, वायु प्रदूषणका कारण नेपालमा प्रतिवर्ष ४० हजारभन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिइएको बताइएको छ । 

Share News