राजेश हमालद्वारा माइडिया एक्टिम प्लस इन्भर्टर एसी सार्वजनिक

काठमाडौं । नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ प्रविधिको सुरुवात गर्दै विश्वकै स्मार्ट मानिएको माइडिया एक्टिम प्लस इन्भर्टर एसी औपचारिक रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा अभिनेता राजेश हमालले उक्त एसी अनावरण गरेका हुन् ।

कार्यक्रममा उद्योगका प्रमुख प्रतिनिधि, व्यवसायिक साझेदार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । माइडियाले नयाँ उत्पादनमार्फत आधुनिक जीवनशैलीअनुसार स्मार्ट र शक्तिशाली कूलिङ समाधान उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

कार्यक्रममा बोल्दै हमालले माइडिया एक्टिम प्लस नेपाली घरपरिवारका लागि उपयोगी प्रविधि भएको उल्लेख गर्दै ऊर्जा खर्च बढिरहेको र गर्मी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा स्मार्ट तथा प्रभावकारी समाधान आवश्यक रहेको बताए ।

नयाँ माइडिया एक्टिम प्लस एसी अत्याधुनिक डीसी इन्भर्टर प्रविधि र एआई–आधारित प्रदर्शन अनुकूलन प्रणाली सहित तयार गरिएको कम्पनीले जनाएको छ । चिसो तथा तातो दुवै मौसमका लागि उपयुक्त यो एसीले आरामदायी तापक्रम कायम राख्दै ऊर्जा बचत तथा उच्च प्रदर्शन प्रदान गर्ने बताइएको छ ।

कम्पनीका अनुसार यसमा जडित एआई ऊर्जा अनुकूलन प्रणाली ले अनुकूल प्रयोग अवस्थामा ७५ प्रतिशतसम्म ऊर्जा बचत गर्न मद्दत गर्छ । प्रयोगकर्ताले माइडिया स्मार्ट होम एप मार्फत वास्तविक समयमै बिजुली खर्च ट्र्याक गर्न सक्ने सुविधा पनि रहेको छ ।

यसमा स्मार्ट कनेक्टिभिटी सुविधा उपलब्ध भएकाले स्मार्टफोन, ट्याब्लेट, स्मार्ट स्पिकर तथा स्मार्टवाचमार्फत सेटिङ नियन्त्रण गर्न सकिन्छ । प्रि–कुलिङ, तापक्रम समायोजन र भ्वाइस कन्ट्रोलजस्ता सुविधाले प्रयोगलाई अझ सहज बनाउने कम्पनीको दाबी छ ।

नेपालको विविध मौसमलाई ध्यानमा राखेर डिजाइन गरिएको यो एसी ५५ डिग्री सेल्सियससम्मको तापक्रममा पनि सञ्चालन गर्न सक्ने क्षमता राख्छ । साथै ९० देखि २६५ भोल्टसम्मको भोल्टेज रेंज भएकाले शहर तथा ग्रामीण क्षेत्रमा हुने भोल्टेज उतारचढावमा पनि सहज सञ्चालन हुने बताइएको छ ।

एसीमा समावेश एयर म्याजिक टेक्नोलोजी माइडिया ग्रुपको पेटेन्टेड प्रविधि हो, जसले हावामा रहेका ब्याक्टेरिया तथा भाइरसको मात्रा कम गरी वातावरणलाई सफा र स्वास्थ्यकर बनाउन सहयोग पुर्याउने कम्पनीले जनाएको छ ।

नेपालका लागि माइडियाको आधिकारिक वितरक एयर एक्सपर्ट्सका निर्देशक नवीन भन्सालीले यो केवल उत्पादन सार्वजनिक गर्ने कार्यक्रम नभई नेपाली उपभोक्तालाई सुविधा र प्रभावकारिताको नयाँ स्तर प्रदान गर्ने पहल भएको बताए ।

नेपालमा दुई दशकभन्दा बढी समयदेखि उपस्थित माइडियाले विश्वसनीयता र नवप्रवर्तनमा बलियो पहिचान बनाएको उल्लेख गर्दै कम्पनीले एक्टिम प्लस इन्भर्टर एसीमार्फत नेपाली बजारमा स्मार्ट र भविष्यउन्मुख कूलिङ समाधान विस्तार गर्ने जनाएको छ ।  

Share News