परमाणु हतियार त्याग्न इरानले गर्‍यो अस्वीकार, वार्ताबाट बाहिरिए भेन्स

होर्मुजमा अमेरिकी सैन्य सक्रियता बढ्यो

वार्ताका लागि पाकिस्तानको इस्लामाबाद आइपुगेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स (बीच), पाकिस्तानका रक्षा बल प्रमुख तथा स्थल सेनाध्यक्ष फिल्ड मार्शल असिम मुनिर (बायाँ) र पाकिस्तानी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इसाक दारसँगै हिँड्दै । (Photo by Jacquelyn Martin - Pool/Getty Images)

काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्सविहीन टुंगिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले आइतबार बिहान इरानी प्रतिनिधिमण्डलले आणविक हतियार विकास नगर्ने सहमति गर्न अस्वीकार गरेपछि अमेरिकी अधिकारीहरू शान्ति वार्ताबाट बाहिरिएको जानकारी दिए।

उनले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी अहिले २१ घण्टादेखि यसमा लागिरहेका छौं र हामीले इरानीहरूसँग धेरै सार्थक छलफल गरेका छौं । त्यो राम्रो खबर हो, तर खराब खबर के हो भने हामी कुनै सम्झौतामा पुग्न सकेनौं ।’

भेन्सका अनुसार इरानले आफ्नो आणविक हतियार खोजी त्याग्न नचाहेको विषय मुख्य अवरोध थियो ।

उनले भने, ‘हामीलाई उनीहरूले आणविक हतियार नखोज्ने र छिट्टै त्यस्तो हतियार हासिल गर्न सक्षम बनाउने उपकरण पनि नखोज्ने स्पष्ट प्रतिबद्धता चाहिएको छ ।’

उनले यो नै राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताबाट हासिल गर्न चाहेको ‘मुख्य लक्ष्य’ भएको उल्लेख गरे । ‘उनीहरूले हाम्रो शर्त स्वीकार नगर्ने निर्णय गरेका छन्,’ उनले भने ।

उपराष्ट्रपतिले पछिल्ला २१ घण्टामा ट्रम्पसँग ‘आधा दर्जनदेखि एक दर्जन पटक’  कुराकानी गरेको, विदेशमन्त्री मार्को रुबियो, अर्थमन्त्री स्कट बेसन्ट र अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरसँग पनि सम्पर्कमा रहेको बताए ।

विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरसँगै उभिएर बोल्दै उनले भने, ‘हामी टोलीसँग निरन्तर सम्पर्कमा थियौं किनकि हामी सद्भावनाका साथ वार्ता गरिरहेका थियौं ।’

‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव लिएर जाँदैछौं, जुन हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब यसलाई इरानीहरूले स्वीकार गर्छन् कि गर्दैनन् त्यो हेर्न बाँकी छ,’ उनले थपे । 

केही समयपछि उनले इस्लामाबादमा एयर फोर्स टुमा चढी हात हल्लाएर बिदाइ गरे।

इरानी सरकारी मिडियाहरूले भने वार्ता विफल हुनुका कारणहरूमा ठूलो मतभेद रहेको बताएका छन्, जसमा देशबाट आणविक सामग्री हटाउने र होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषय पनि समावेश छन् । इरानको तस्निम समाचार एजेन्सीले ‘अत्यधिक’ अमेरिकी मागहरूले सम्झौता हुन नदिएको जनाएको छ ।

यो ऐतिहासिक वार्ता कमजोर दुई साताको युद्धविराम घोषणा भएको केही दिनपछि अन्त्य भएको हो । भेन्सका भनाइले त्यो अवधि सकिएपछि के हुने वा युद्धविराम कायम रहने कि नरहने भन्ने विषयमा स्पष्ट पार्न सकेन  ।

इरानी संसदका सभामुख मोहम्मद बाघेर कालीबाफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अमेरिकी र पाकिस्तानी समकक्षीसँग युद्धविरामलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेको थियो । यसबीच इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाहमाथि आक्रमण जारी राखेको छ, जहाँ स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनको संख्या २ हजार नाघेको छ ।

इरानी प्रतिनिधिमण्डल युद्धमा मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईलगायतका व्यक्तिहरूको शोकमा कालो पोशाकमा आएको थियो । उनीहरूले अमेरिकी बमबारीमा मारिएका केही विद्यार्थीहरूको जुत्ता र झोला पनि बोकेका थिए, जुन विद्यालय सैनिक कम्पाउन्ड नजिकै रहेको थियो । पेन्टागनले उक्त आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ ।

वार्ताको पहिलो चरणबारे एक पाकिस्तानी स्रोतले रोयटर्सलाई भन्यो, ‘दुवै पक्षमा मनोदशामा उतारचढाव देखियो र बैठकका क्रममा वातावरण कहिले गरमागरम त कहिले शान्त भयो ।’

अमेरिका–इरान वार्ताका लागि २० लाखभन्दा बढी जनसंख्या भएको इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको थियो, जहाँ हजारौं अर्धसैनिक र सेना सडकमा तैनाथ थिए ।

होर्मुज जलडमरूमध्य हुँदै अमेरिकी युद्धपोतहरू

शान्ति वार्ता भइरहँदा दुई अमेरिकी युद्धपोतहरूले द्वन्द्व सुरु भएयता पहिलोपटक होर्मुज जलडमरूमध्य पार गरेका थिए । अमेरिकी केन्द्रीय कमाण्डले ती जहाजहरू इरानले राखेका समुन्द्री बारुद हटाउने अभियानमा संलग्न रहेको जनाएको छ ।

मंगलबारदेखि लागू भएको अमेरिका–इरान युद्धविराम दबाबमा परेको छ, किनकि इरानले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल–ग्यास मार्ग मानिने उक्त जलडमरूमध्यमा अधिकांश जहाज आवागमन रोकिरहेको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार यूएसएस फ्र्याङ्क ई पीटरसन र यूएसएस माइकल मर्फी नामक निर्देशित क्षेप्यास्त्र विध्वंसक जहाजहरूले खानी सफा गर्ने अभियान चलाएका छन् ।

एडमिरल ब्राड कुपरले भने, ‘आज हामीले नयाँ मार्ग स्थापना गर्ने प्रक्रिया सुरु गरेका छौं र छिट्टै समुन्द्री उद्योगसँग सुरक्षित मार्ग साझा गर्नेछौं ।’

यसैबीच ट्रम्पले पत्रकारहरूसँग भने, ‘हामी जलडमरूमध्य सफा गरिरहेका छौं । सम्झौता भयो वा भएन मलाई फरक पर्दैन ।’

तर इरानी मिडियाले भने अमेरिकाको एक सैन्य जहाजलाई फर्कन बाध्य बनाएको दाबी गरेका छन् ।

शनिबार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले चेतावनी दिँदै भनेको छ कि कुनै पनि सैन्य जहाजले होर्मुज पार गर्ने प्रयास गरे ‘कडा प्रतिक्रिया’ दिइनेछ र केवल गैरसैन्य जहाजलाई निश्चित नियमअन्तर्गत मात्र अनुमति दिइनेछ ।

अर्कोतर्फ एक वरिष्ठ इरानी स्रोतले अमेरिकाले कतार र अन्य विदेशी बैंकहरूमा रहेको रोक्का सम्पत्ति फुकुवा गर्न सहमति जनाएको दाबी गरेको थियो, तर अमेरिकी अधिकारीहरूले तुरुन्तै त्यसलाई अस्वीकार गरेका छन् ।

तेल ट्यांकरहरूको आवागमन

शनिबार तीनवटा विशाल तेल ट्यांकरहरू होर्मुज जलडमरूमध्य हुँदै गइरहेका थिए, जुन अमेरिका–इरान युद्धविरामपछि खाडी क्षेत्रबाट बाहिरिने पहिलो जहाजहरू हुनसक्ने देखिएको छ ।

फेब्रुअरी अन्त्यदेखि इरानले करिब २० प्रतिशत विश्व तेल आपूर्ति हुने यो मार्ग अवरुद्ध गरेपछि ऊर्जा आपूर्तिमा असर परेको र तेल मूल्य बढेको छ ।

यी जहाजहरूले प्रति जहाज २० लाख ब्यारेलसम्म तेल बोक्न सक्छन् ।

इरानप्रति ट्रम्पको असन्तुष्टि

ट्रम्पले इरानले अझै पनि जहाज आवागमन रोकिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले दुई साताको युद्धविराम घोषणा गर्दा इरानले होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खोल्नुपर्ने सर्त राखेका थिए । तर अहिलेसम्म आवागमन लगभग बन्दकै अवस्थामा रहेको छ ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि इरानले ट्यांकरहरूबाट शुल्क लिइरहेको छ भने, त्यो तुरुन्त बन्द गर्नुपर्छ !’

इजरायल–लेबनान वार्ता

इजरायल र लेबनानबीच प्रत्यक्ष वार्ता मंगलबार वासिङ्टनमा सुरु हुने अपेक्षा गरिएको छ । तर लेबनानमा हजारौंले यसको विरोध गरेका छन् ।

इजरायलले हिजबुल्लाहलाई निःशस्त्र बनाउन लेबनान सरकार जिम्मेवार हुनुपर्ने बताएको छ, तर त्यो सम्भव हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।

इरानसँगको युद्धविराममा हिजबुल्लाहसँगको लडाइँ समावेश नभएको इजरायलको अडानले सम्झौता नै असफल हुने खतरा बढाएको छ ।

युद्धविराम घोषणा भएकै दिन इजरायलले बेरुतमा हवाई आक्रमण गर्दा ३०० भन्दा बढी मानिस मारिएका थिए ।

कतारको निर्णय

कतारको यातायात मन्त्रालयले आइतबारदेखि समुन्द्री आवागमन पूर्ण रूपमा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ, तर होर्मुज जलडमरूमध्य खुला भएको हो कि होइन भन्ने स्पष्ट छैन ।

पोप लियोको प्रतिक्रिया

पोप लियो चौधौंले युद्धलाई बढावा दिने शक्तिको भ्रमलाई आलोचना गर्दै राजनीतिक नेताहरूलाई वार्ता गरेर शान्ति स्थापना गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘आत्म–पूजा र पैसाको पूजा बन्द गरौं ! शक्ति प्रदर्शन बन्द गरौं ! युद्ध बन्द गरौं !’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित)

युद्धविरामलाई लिएर ‘इजरायली मिडिया’ चिन्तित, नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ आरोप

इरान-अमेरिका तनावमा पाकिस्तानको ‘इन्ट्री’ : शरिफ र मुनिरको पहलमा ट्रम्प युद्ध रोक्न सहमत

Share News