काठमाडौं । भारतकी प्रसिद्ध गायिका आशा भोसलेको आइतबार निधन भएको छ । उनको ९२ वर्षमा निधन भएको हो । मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका चिकित्सकहरूले भोसलेको निधन भएको पुष्टि गरे ।
कार्डियाक अरेस्ट भएपछि उनलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो ।
भोसले भारतीय संगीत जगतकी ठूलो हस्ती हुन् ।
सन् १९४८ मा फिल्म ‘चुनरिया’ मार्फत आशाले पार्श्र्व गायनको दुनियाँमा पाइला राखेकी थिइन् । उनले गीता दत्त र शमशाद बेगमसँग मिलेर आफ्नो पहिलो गीत ‘सावन आया रे’ गाएकी थिइन् ।
यसको ठीक एक वर्षपछि सन् १९४९ मा फिल्म ‘रात की रानी’ मार्फत उनलाई पहिलो सोलो गीत गाउने अवसर मिल्यो ।
सन् १९५० को दशकमा उनी नौशाद, सी. रामचन्द्र, शंकर–जयकिशन र एसडी बर्मनजस्ता दिग्गज संगीतकारहरूको उनी पहिलो रोजाइ बनिन् ।
उनले हजारभन्दा बढी सिनेमामा काम गरेकी छन् भने १० हजारभन्दा धेरै गीत गाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
आफ्नो असाधारण प्रतिभाका बाबजुद पनि आशा भोसलेले ‘नम्बर दुई’ को स्थानमै सन्तुष्ट हुनुपर्यो, किनकि हिन्दी फिल्म उद्योगमा ‘नम्बर एक’ स्थानमा उनकी आफ्नै महान् र दिग्गज दिदी लता मंगेशकर थिइन् ।
भारत सरकारले आशा भोसलेलाई पद्म विभूषण र दादासाहेब फाल्के पुरस्कार जस्ता उच्च सम्मानहरू प्रदान गरेको छ ।