काठमाडौं । पूर्वी फ्रान्सको एउटा गाउँमा करिब दुई वर्षदेखि अमानवीय अवस्थामा बन्दी बनाइएका नौ वर्षीय बालकको उद्धार भएपछि स्थानीय समुदाय स्तब्ध बनेको छ । सन् २०२४ देखि आफ्नै बुबाले युटिलिटी भ्यानभित्र थुनेर राखेको अवस्थामा भेटिएका ती बालकलाई गम्भीर कुपोषण र शारीरिक कमजोरीका कारण तत्काल अस्पताल भर्ना गरिएको छ ।
स्थानीय अभियोजक निकोलस हेट्जका अनुसार स्विट्जरल्यान्ड र जर्मनीको सीमाना नजिक रहेको ह्यागेनबाख गाउँमा सोमबार छिमेकीले ‘बच्चाको आवाज’ सुनेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेका सुरक्षाकर्मीहरूले बलपूर्वक भ्यान खोल्दा अत्यन्तै दयनीय अवस्थामा बालकलाई फेला पारेका थिए ।
अभियोजकका अनुसार बालक भ्रूणजस्तो अवस्थामा खुम्चिएको, नग्न, फोहोर र मलमूत्र नजिकै कम्बलले ढाकिएको अवस्थामा थिए । लामो समय एउटै स्थितिमा बसेका कारण उनी हिँड्नसमेत असमर्थ बनेका छन् भने स्पष्ट रूपमा कुपोषित देखिएका छन् । बालकले सन् २०२४ यता आफूले नुहाउनसमेत नपाएको जानकारी दिएका छन् ।
अनुसन्धानका क्रममा बालकका बुबाले नोभेम्बर २०२४ मा उनलाई भ्यानमा राखेको स्वीकार गरेका छन् । उनका अनुसार आफ्नी साथीले तत्कालीन सात वर्षीय बालकलाई मानसिक अस्पताल पठाउन चाहेकाले आफूले यस्तो कदम चालेका थिए । तर अभियोजकले बालकको कुनै मानसिक समस्या रहेको प्रमाणित हुने मेडिकल अभिलेख नभएको र उनी विद्यालयमा राम्रो प्रदर्शन गर्ने विद्यार्थी रहेको स्पष्ट पारेका छन् ।
बालकले अनुसन्धानकर्तासँगको बयानमा आफ्नो बुबाको साथीसँग ‘ठूलो कठिनाइ’ भएको उल्लेख गर्दै आफूलाई थुन्नु बाहेक बुबासँग अन्य विकल्प नभएको बताएको अभियोजकको कार्यालयले जनाएको छ ।
प्रहरीले बालकका बुबालाई प्रारम्भिक रूपमा अपहरणसहित विभिन्न अभियोगमा हिरासतमा राखेको छ । बुबाकी साथीले भने बालक भ्यानमा रहेको कुरा आफूलाई थाहा नभएको दाबी गरेकी छन् । उनलाई जोखिममा परेका नाबालिगलाई सहयोग नगरेको आरोपमा प्रारम्भिक अभियोग लगाइएको छ र न्यायिक निगरानीमा रिहा गरिएको छ ।
यस घटनासँग सम्बन्धित रूपमा बालककी १२ वर्षीया दिदी र बुबाकी साथीकी १० वर्षीया छोरीलाई सामाजिक सेवाको संरक्षणमा राखिएको छ । अभियोजकको कार्यालयले बालक लामो समयसम्म बन्दी अवस्थामा रहँदा अन्य कसैलाई जानकारी थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
अनुसन्धानका क्रममा बालकका साथीभाइ र आफन्तहरूले उनी मानसिक स्वास्थ्य संस्थामा रहेको ठानेको बताएका छन् । विद्यालयका शिक्षकहरूलाई समेत बालक अन्यत्र विद्यालयमा स्थानान्तरण भएको जानकारी दिइएको थियो ।
घटनापछि ह्यागेनबाखका स्थानीय बासिन्दाहरूले गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरूले बालकको अवस्थाबारे पहिले थाहा नभएको बताए पनि घटनाका विवरणबारे खुलस्त टिप्पणी गर्न चाहेका छैनन् ।
अधिकारीहरूले पीडित बालक र उनका परिवारका सदस्यहरूको पहिचान गोप्य राखेका छन् । अभियोजकले थप अनुसन्धान जारी रहेको जनाउँदै यसबारे विस्तृत टिप्पणी गर्न अस्वीकार गरेका छन् । रासस