काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीले प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता चयनमा भइरहेको ढिलाइबारे पार्टीभित्रैबाट स्पष्ट मापदण्ड बनाएर छिटो निर्णय गर्नुपर्ने आवाज उठाएका छन् ।
उनले सार्वजनिक रूपमा धारणा राख्दै नेता चयनमा ढिलाइ हुनु स्वाभाविक बहसको विषय भए पनि को, किन र कस्तो नेता चाहिन्छ भन्नेबारे स्पष्ट मापदण्ड तय गर्न आवश्यक रहेको बताए ।
उनले आफ्ना कारणले प्रक्रियामा ढिलाई भएको भन्ने आरोप असत्य र भ्रामक रहेको स्पष्ट पार्दै यसबारे पार्टीभित्र र सार्वजनिक रूपमा पटकपटक धारणा राखिसकेको जानकारी दिए ।
‘पहिले सहमतिको मापदण्ड बनाऔं, सकेसम्म सर्वसम्मतिबाट टुंग्याऔं,’ उनले भनेका छन् ।
प्रत्यक्ष वा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदबीच विभेद गर्नु उपयुक्त नहुने उनको धारणा छ ।
यदि निर्वाचनमार्फत निर्णयमा पुग्नुपर्ने अवस्था आएमा पनि निश्चित मापदण्डका आधारमा योग्य, न्यायोचित र तार्किक निर्णय हुनुपर्ने नेता केसीको भनाइ छ ।
उनका अनुसार संसदीय दलको नेता केवल पद नभई प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने महत्त्वपूर्ण जिम्मेवारी हो ।
सहमति हुन नसके तत्काल निर्वाचनमार्फत निर्णय गर्न ढिलाइ गर्न नहुने पनि उनको भनाइ छ ।