वैशाख १५ गते सुरुङमार्ग सञ्चालनमा आउने : १४३ नेपाली कामदार, ५ चिनियाँ विज्ञले कमाण्ड सम्हाल्ने

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गको रूपमा रहेको नागढुंगा सुरुङमार्ग आगामी वैशाख १५ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आयोजनाका सूचना अधिकारी सञ्जय पन्थीले सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि आवश्यक जनशक्ति छनौटको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सुरुङमार्ग सञ्चालनका लागि एक चिनियाँ कम्पनीलाई छनौट गरिएको छ । ‘हामीले कम्पनी छनौट गरिसकेका छौं र अब सम्झौताका लागि बोलाएका छौं,’ सूचना अधिकारी पन्थीले भने ।

सम्झौता प्रक्रिया सकिएलगत्तै कम्पनीले आफ्नो विस्तृत कार्ययोजना र जनशक्तिको विवरण पेश गर्नेछ ।

सुरुङमार्गको सुरक्षित र व्यवस्थित सञ्चालनका लागि जम्मा १४८ जनाको दरबन्दी तय गरिएको छ । जसमा ५ जना चिनियाँ प्राविधिक विज्ञ रहनेछन् भने बाँकी १४३ जना नेपाली कर्मचारी हुनेछन् । विदेशी विज्ञहरूले मुख्यगरी पाँचवटा प्राविधिक क्षेत्रको नेतृत्व गर्नेछन् । जसमा ओभरअल हेड (समग्र नेतृत्व), टोल कलेक्सन (शूल्क संकलन), टनेल फ्यासिलिटी (सुरुङ सुविधा), सेफ्टी (सुरक्षा) तथा ट्राफिक मनिटरिङ (ट्राफिक निगरानी) गर्ने जनाएको छ । 

नेपाली कर्मचारीहरूको हकमा आयोजनाले स्थानीय बासिन्दालाई पहिलो प्राथमिकता दिने नीति लिएको छ । इन्जिनियर, मेकानिकल, आईटी विज्ञदेखि सवारी चालक र सुरक्षा गार्डसम्मका लागि आवश्यक योग्यता तोकिएको छ । छनौट भएका कर्मचारीहरूलाई सुरुङमार्ग सञ्चालन सम्बन्धी १५ देखि २० दिनको विशेष तालिम दिइनेछ ।

सुरुङमार्गको भौतिक निर्माण सम्पन्न भई अब सञ्चालनको प्राविधिक पक्षमा काम भइरहेको छ । ‘सम्झौता भएपछि हामी कम्पनीको वर्क सेड्युल माग्छौं र त्यो चित्तबुझ्दो भएपछि सञ्चालनको प्रक्रिया अघि बढ्छ,’ पन्थीले भने । 

Share News