काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा मन्त्री वादीको सम्पत्ति अन्य मन्त्रीहरूको तुलनामा केही भिन्न देखिएको छ ।
मन्त्री वादीले आफ्नो सम्पत्ति विवरणमा घरमा पालिएका पशुपन्छीको समेत फेहरिस्त बुझाएकी छिन् । विवरण अनुसार उनीसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको छ। यसका साथै उनीसँग अन्य विद्युतीय र सवारी साधनहरू छन् ।
मन्त्री वादीको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा पल्सर मोटरसाइकल तथा ३ वटा ल्यापटप र २ वटा मोबाइल छन् ।
आर्थिक कारोबारका हकमा उनीसँग नगद ५० हजार रुपैयाँ रहेको छ भने बैंक खातामा उनी र श्रीमानको नाममा गरी कुल १५ लाख रुपैयाँ मौज्दात रहेको छ ।
गरगहनातर्फ मन्त्री वादीसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख छ । यो सुनचाँदी उनले विवाहको समयमा उपहार स्वरूप प्राप्त गरेको विवरणमा खुलाइएको छ ।
जग्गाजमिनको विवरण अनुसार मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको एउटा जग्गा रहेको छ ।
सरकारले पारदर्शिताका लागि सार्वजनिक गरेको यस विवरणले मन्त्रीहरूको आर्थिक अवस्था र जीवनशैलीको झलक दिएको छ ।
मन्त्री वादीको विवरणमा घरपालुवा पशुपन्छी समेत उल्लेख हुनुलाई धेरैले उनको सरल र व्यावहारिक पक्षका रूपमा लिएका छन् ।