काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्री पोखरेलले आफ्नो र परिवारको संयुक्त नाममा काठमाडौं, ललितपुर र मोरङका विभिन्न ७ स्थानमा घरजग्गा रहेको खुलाएका छन् ।
बुवा, आमा, मावली हजुरआमा र दिदीबहिनीको समेत संयुक्त स्वामित्वमा रहेको उक्त अचल सम्पत्तिको मूल्य करिब साढे २० करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ । साथै, २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् ।
उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ ।
उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् ।
बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रुपमा राखेका छन् ।
आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् ।
उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन् । हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ्रे बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ ।
बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् ।
उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको उल्लेख छ ।