मन्त्री पनि करोडौंका लगानीकर्ता

काठमाडौं । सरकारका मन्त्रीहरूले करोडौं रुपैयाँ बराबर सेयर लगानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्रीहरूले पुँजी बजारका विभिन्न कम्पनी र सूचीकृत नरहेका कम्पनीहरूमा करोडौं रुपैयाँ बराबरको सेयर लगानी गरेको देखिन्छ ।

सम्पत्ति विवरणअनुसार सरकारका १२ जना मन्त्रीले विभिन्न कम्पनीमा लगानी गरेका छन् भने ४ जना मन्त्रीको भने शून्य लगानी रहेको देखिन्छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर रहेको छ । साथै साङ्‌ग्रिला डेभलपमेन्ट बैंकमा २५ हजार कित्ता संस्थापक सेयर रहेको छ । अन्य लगानीतर्फ नेशनल फण्ड म्यानेजमेन्टमा ९० लाख, ठूलो खोलामा ६० लाख र अपर म्यादी खोला हाइड्रोमा ३ करोड रुपैयाँ बराबरको सेयर रहेको  छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरणअनुसार विभिन्न कम्पनीहरूमा उनको उल्लेखनीय सेयर लगानी रहेको देखिएको छ । विवरणअनुसार, खनालको पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्मा इन्टेल प्रालिमा १०० प्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत स्वामित्व रहेको छ ।

त्यस्तै, बीपीडब्ल्यु माइक्रोफाइनान्स (हाल सामुदायिक लघुवित्त)मा २ हजार ५६० कित्ता, ओम मेगाश्री फर्मास्युटिकल्समा ५ हजार कित्ता, ग्लोबल आइएमई बैंकमा १०९ कित्ता, नबिल बैंकमा ५० कित्ता तथा मुक्तिनाथ विकास बैंक (एमएनबीबीएल)मा ७३ कित्ता सेयर रहेको उल्लेख गरिएको छ । साथै अन्य कम्पनीहरूमा पनि करिब १०० कित्ता सेयर रहेको जनाइएको छ।

मन्त्री खनालको सम्पत्ति विवरणअनुसार अच्युता अधिकारीको नाममा समेत विभिन्न कम्पनीमा लगानी देखिएको छ । जसमा चन्द्रागिरी हिल्सको ३० कित्ता, जोशी हाइड्रोपावरको २०० कित्ता, मुक्तिनाथ विकास बैंकको ११२ कित्ता, नेपाल बैंकको २०० कित्ता र नेशनल हाइड्रोपावरको १०० कित्ता सेयर रहेका छन् ।

त्यसैगरी, एनआईबिएल एसआईपीमा ४ हजार ६३३ युनिट, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १०० कित्ता, नेपाल रिपब्लिक मिडियाको १२५ कित्ता, राधी जलविद्युतको २४ कित्ता, समता लघुवित्तको २० कित्ता, सुपर माडी हाइड्रोपावरको १०० कित्ता, शिवश्री हाइड्रोपावरको १५० कित्ता, युनियन हाइड्रोपावरको २०० कित्ता तथा उन्नति सहकारीको ७० कित्ता सेयर रहेको उल्लेख गरिएको छ ।

उर्जा, जलस्रोत, तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न कम्पनीहरूमा उल्लेखनीय सेयर लगानी रहेको देखिएको छ । विवरणअनुसार श्रेष्ठसँग सर्वसाधारण र संस्थापक गरी कुल २० हजार ९७८ कित्ता सेयर रहेको छ, जसको अनुमानित मूल्य १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबर रहेको छ । उक्त सेयर स्वआर्जनबाट खरिद गरिएको उल्लेख गरिएको छ ।

साथै २०७८ साउन २२ गतेसम्मको विवरणअनुसार दैनिक रूपमा खरिद-बिक्री बैंकिङ प्रणालीमार्फत हुने भएकाले सेयरको यकिन मूल्य उल्लेख नगरिएको जनाइएको छ ।

गृहमन्त्री सुधन गुरुङको कुल ४ करोड ३१ लाख रुपैयाँ बराबरको लगानी रहेको देखिएको छ । विवरणअनुसार, होप होल्डिङ्स प्रालिमा ३० हजार कित्ता सेयर रहेको छ, जसको मूल्य करिब ३० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय कित्ता सेयर रहेको छ, जसको मूल्य ५७ लाख रुपैयाँ बराबर रहेको उल्लेख गरिएको छ । पुँजी बजारमा कारोबार हुने अन्य सेयरहरूमा उनले २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी गरेको जनाएका छन् ।

साथै, एड्भेन्चर भिल्ला प्रालिमा ७० हजार कित्ता सेयर रहेको छ, जसको मूल्य करिब ७० लाख रुपैयाँ रहेको छ । जसको स्रोत व्यवसायीक तथा पैतृक सम्पत्ति रहेको उल्लेख छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको ग्लोबल टूर हिमालय टुर्स एण्ड ट्रेक्समा ५० प्रतिशत स्वामित्व रहेको छ, जुन पैतृक सम्पत्तिबाट गरिएको लगानी रहेको उल्लेख छ । साथै, सोपान मल्टिपल कम्पनीमा ६ हजार ५ सय कित्ता संस्थापक सेयर रहेको छ, जुन तलबबाट आर्जित रकमबाट खरिद गरिएको हो । 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सिता बादीको ५ हजार ६ सय कित्ता सेयर लगानी रहेको छ । तर, उक्त सेयर कुन कम्पनीको हो भनेर उल्लेख गरिएको छैन । 

संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको विभिन्न कम्पनीमा आईपीओ भरेको १ लाखको सेयर रहेको छ । उक्त सेयर स्वआर्जनबाट प्राप्त गरेको उल्लेख छ ।

स्वास्थ्य, जनसंख्या तथा खाने पानी मन्त्री निशा मेहताको विभिन्न कम्पनीमा सेयर लगानी रहेको छ । घलेम्दी हाइड्रोमा ६० कित्ता (१४ हजार ६५० रुपैयाँ), हिमाल दोलखा हाइड्रोपावरमा ८८ कित्ता (१९ हजार ८८८ रुपैयाँ), जीबीएलभीमा १८ कित्ता (३६ हजार ५९६ रुपैयाँ) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा ६४ कित्ता (१७ हजार २०३ रुपैयाँ) सेयर रहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल परिवारको नाममा उल्लेखनीय लगानी देखिएको छ । बुवा रमेश कुमार पोखरेलको पीएमएस होल्डिङ (सानिमा क्यापिटल) मा ३० लाख रुपैयाँ बराबरको सेयर रहेको छ । त्यस्तै, राष्ट्रिय बचतपत्रमा ९६ लाख ९० हजार रुपैयाँ र मिनाक्षी ओझा पोखरेलको नाममा ५० लाख रुपैयाँ बराबरको बचतपत्र लगानी रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा ६५२ कित्ता, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा १० हजार इकाई र मझेरी सहकारीमा ७ हजार ५ सय कित्ता सेयर रहेको छ।

कृषि तथा पशुपन्छी र वन तथा वातावरणमन्त्री गिता चौधरीको एनआईएमबि, एसआईपी लगायत कम्पनीहरूमा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको सेयर लगानी रहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको विभिन्न कम्पनीमा ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँको सेयर रहेको छ । उक्त सेयर शिवजी यादवको नाममा रहेको उल्लेख छ । 

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्री सुनिल लम्साल, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सेयरमा लगानी नभएको उल्लेख गरिएको छ ।

Share News