उद्योगमन्त्री गौरीकुमारी यादवको सम्पत्तिः काठमाडौं र मधेसमा अर्बौंको घरजग्गा, १८० तोला सुन

काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ सार्वजनिक गरेको विवरण अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको नाममा राजधानी र तराईका विभिन्न जिल्लामा ठूलो परिमाणमा घरजग्गा तथा सुनचाँदी रहेको  छ ।

सार्वजनिक विवरण अनुसार मन्त्री यादवको काठमाडौं महानगरपालिकाभित्रै चार स्थानमा जग्गा रहेको छ । मन्त्री गौरी यादवको काठमाडौं-९ मा १ रोपनी ३ आना २ पैसामा बनेको तीन तल्ले घर छ । त्यस्तै, वडा नम्बर १० मा १४ आना, ७ आना र ९ आना गरी तीनवटा जग्गा छन् । 

उनले बर्दिबास नगरपालिकामा १४ कट्ठा, १५ कट्ठा र साढे ५ बिघा गरी तीनवटा जग्गा देखाएकी छन् । त्यसबाहेक सम्सी गाउँपालिकामा १ बिघा र १ कट्ठा गरी दुई ठाउँमा र मनहराशिसवा गाउँपालिकामा एउटा पोखरी पनि रहेको उनले उल्लेख गरेकी छन् । 

सम्पत्ति विवरण अनुसार उनीसँग सुन १८० तोला र चाँदी २ किलो छ । विभिन्न बैंकमा १० लाख रूपैयाँ मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै, ३ करोड ३८ लाख ३५ हजार रूपैयाँ मूल्यको सेयर रहेको  उल्लेख छ । 

Share News