काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश नीतिको आलोचना गरेको भन्दै पोप लियोलाई कडा शब्दमा आक्रमण गरेका छन् ।
आइतबार राष्ट्रपति ट्रम्पले पोप लिओ १४ द्वारा इरानसँगको अमेरिकी युद्धबारे गरिएको आलोचनामाथि प्रतिक्रिया दिँदै उनलाई कडा आलोचना गरेका हुन् ।
ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने, ‘म यस्तो पोप चाहन्नँ, जसले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको आलोचना गर्छ । किनकि म ठ्याक्कै त्यही काम गरिरहेको छु, जसका लागि म भारी मतान्तरले निर्वाचित भएको हुँ ।’
ट्रम्पले पोपको चयनलाई आफ्नै राष्ट्रपति पदमा पुनरागमनसँग जोड्दै भने, ‘लियोले कृतज्ञ हुनुपर्छ, किनकि सबैलाई थाहा छ, उनी अप्रत्याशित रूपमा पोप बनेका हुन् । उनी पोप बन्ने सूचीमा थिएनन् र चर्चले उनलाई केवल अमेरिकी भएकै कारण त्यहाँ राख्यो । यदि म ह्वाइट हाउसमा नभएको भए लियो भ्याटिकनमा हुने थिएनन् ।’
ट्रम्पले लियोलाई ‘अपराधप्रति कमजोर, आणविक हतियारबारे कमजोर’ भन्दै आलोचना गरे र भने कि उनले बाराक ओबामाका पूर्व राजनीतिक सहयोगी डेभिड एक्सेलरोडजस्ता ‘ओबामा समर्थक’हरूसँग भेट गर्नु पनि आफूलाई मन नपरेको बताए ।
उनले एक्सलरोडलाई चर्च जाने मानिसहरू र धर्मगुरुहरूलाई गिरफ्तार गर्न चाहनेहरूमध्ये एक भएको आरोप लगाए ।
शिकागोका निवासी तथा अमेरिकी मूलका पहिलो पोप लियोले भने ट्रम्पको इरान युद्ध प्रयासको कडा आलोचना गरेका छन् ।
शनिबार उनले भनेका थिए, ‘आत्म र पैसाको पूजा अब पर्याप्त भयो ! शक्ति प्रदर्शन अब पर्याप्त भयो ! युद्ध अब पर्याप्त भयो ! साँचो शक्ति जीवनको सेवा गर्ने कार्यमा प्रकट हुन्छ ।’
पोपले ट्रम्पले हालै इरानमा ‘सम्पूर्ण सभ्यतालाई नष्ट गर्ने’ धम्की दिएको विषयलाई पनि ‘पूर्ण रूपमा अस्वीकार्य’ बताएका छन् ।
लियोले आफ्नो इस्टर सन्देशमार्फत पनि शान्तिको आह्वान गरेका थिए।
उनले भने, ‘हातहतियार भएका मानिसहरूले ती राखून् ! युद्ध भड्काउने शक्ति भएका मानिसहरूले शान्ति रोजून् ! बल प्रयोग गरेर थोपारिएको शान्ति होइन, संवादमार्फत प्राप्त हुने शान्ति होस् ! अरूलाई नियन्त्रण गर्ने चाहनाबाट होइन, उनीहरूसँग भेटघाट गर्ने इच्छाबाट शान्ति कायम होस् !’
लियो र अन्य चर्च नेताहरूले ट्रम्पको आन्तरिक आप्रवासन नीतिहरूमाथि पनि बेला–बेला कडा आलोचना गर्दै आएका छन् ।
पोपले नोभेम्बरमा युनाइटेड स्टेट कन्फेरेन्स अफ क्यालोथिक बिशपद्वारा जारी सन्देशलाई समर्थन गरेका थिए, जसमा ‘प्रोफाइलिङ र आप्रवासन कार्यान्वयनसँग सम्बन्धित प्रश्नहरूका कारण जनतामा डर र चिन्ताको वातावरण देख्दा हामी चिन्तित छौं’ भनिएको थियो ।
बिशपहरूले लेखेका थिए, ‘हामी हाम्रो देशका आप्रवासन कानुन र प्रक्रियामा सार्थक सुधारको पक्षमा छौं। मानव गरिमा र राष्ट्रिय सुरक्षा परस्पर विरोधी होइनन्। यदि सद्भावना भएका मानिसहरू मिलेर काम गर्छन् भने यी दुवै सम्भव छन् ।’
परमाणु हतियार त्याग्न इरानले गर्यो अस्वीकार, वार्ताबाट बाहिरिए भेन्स
युद्धविरामलाई लिएर ‘इजरायली मिडिया’ चिन्तित, नेतान्याहूले ‘ट्रम्पसामु आत्मसमर्पण गरेको’ आरोप