मधेशमा सबैभन्दा बढी घरजग्गा कारोबार, कर्जा ७२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर रियल-स्टेट कारोबारसम्बन्धी तथ्याङ्क प्रकाशन सुरु गरेको छ। अब भूमि व्यवस्थापन तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग तथा राष्ट्र बैंकले संकलन गर्ने तथ्याङ्कका आधारमा यस्तो विवरण त्रैमासिक रूपमा सार्वजनिक गरिने भएको छ।

राष्ट्र बैंकका अनुसार रियल-स्टेट कारोबारको प्रवृत्ति विश्लेषण लिखत पारित अन्तर्गत राजीनामा कारोबारको आधारमा गरिएको हो । कारोबार संख्या, मूल्य, जग्गाको क्षेत्रफल, राजस्व संकलन तथा बैंक कर्जाको प्रवाहलाई आधार मानेर विश्लेषण गरिएको जनाइएको छ ।

तथ्याङ्कलाई राष्ट्रियस्तरका साथै प्रादेशिक, महानगरपालिका तथा उप-महानगरपालिका स्तरसम्म विभाजन गरी अध्ययन गरिएको छ । साथै, जग्गाको क्षेत्रफललाई विभिन्न वर्गमा विभाजन गरेर कारोबार संख्या र रकम प्रस्तुत गरिएको छ।

त्रैमासिक विवरणअनुसार घरजग्गा कारोबारमा मौसमी प्रवृत्ति देखिएको छ । पहिलो त्रैमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने प्रवृत्ति देखिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रदेशगत रूपमा कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा रहेको छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार सबैभन्दा कम रहेको देखिएको छ ।

जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा उच्च रहेको छ । अन्य प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू बढी कारोबार हुने गरेका छन् भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार हुने गरेको तथ्याङ्कले देखाएको छ ।

घोषित मूल्य (थैली रकम) का आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उप-महानगर क्षेत्रमा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको देखिएको छ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८.२ अर्ब रुपैयाँमा झरे पनि पछिल्लो अवधिमा सुधार भई २०८१/८२ मा करिब १५ अर्ब रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले यस्तो तथ्याङ्क प्रकाशनले रियल-स्टेट क्षेत्रको गतिविधि आकलन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, यही आधारमा घरजग्गा मूल्य सूचकाङ्क निर्माण तथा प्रकाशन गर्ने दोस्रो चरणको तयारीसमेत भइरहेको जनाएको छ।

Share News