काठमाडौं । इरानको सेनाले अमेरिकाले उसका बन्दरगाहहरू रोक्ने प्रयास गरे जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
इरानले अमेरिकाका धम्कीहरू ‘अवैध’ भएको र यो ‘समुद्री डकैती’ जस्तै कार्य भएको बताएको छ ।
समाचार एजेन्सी आईआरआईबीमा जारी वक्तव्यमा इरानले युद्ध समाप्त भएपछि पनि होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण कायम राख्ने जनाएको छ ।
इरानले स्पष्ट पारेको छ कि शत्रुसँग सम्बन्धित जहाजहरूलाई इरानी समुद्री सीमाबाट गुज्रने अधिकार छैन ।
खाडी देशहरूलाई चेतावनी दिँदै इरानी सेनाले भनेको छ, ‘क्षेत्रका बन्दरगाहहरूको सुरक्षा या त सबैका लागि हुनेछ या कसैका लागि पनि हुने छैन । यदि अमेरिकी सेनाले इरानी बन्दरगाहहरूलाई निशाना बनायो भने फारसको खाडी र ओमान सागरका कुनै पनि बन्दरगाह सुरक्षित रहने छैनन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिँदै अब अमेरिका होर्मुज स्ट्रेटबाट गुज्रने जहाजहरूको नाकाबन्दी गर्ने बताएका थिए ।
शनिबार अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको नेतृत्वमा एउटा कूटनीतिक टोलीले इरानसँग अमेरिकाको युद्ध अन्त्य गर्न सम्झौता गर्ने प्रयास गरेपनि असफल भयो ।
त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय आइतबार बिहान ट्रुथ सोशलमा गरिएका शृंखलाबद्ध पोस्टमार्फत सार्वजनिक भयो ।
उनले लेखेका छन् कि अमेरिका इरानमाथि ‘नेभी ब्लकेड’ गर्नेछ । उनले लेखेका छन्, ‘जो कोहीले होर्मुज स्ट्रेटमा गैरकानुनी टोल तिर्छ, उसलाई खुला समुद्रमा सुरक्षित मार्ग प्राप्त हुने छैन ।
उनले यो पनि बताएका छन् कि अमेरिका आफ्ना सहयोगी देशहरूको जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्न होर्मुज स्ट्रेटबाट बारूदी सुरङ हटाउने कार्य जारी राख्नेछ ।
साथै उनले अमेरिकी सेना उचित समयमा इरानविरुद्ध आक्रमण पुनः सुरु गर्न तयार रहेको पनि बताए ।