काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले वर्ष २०८३ लाई ‘डिजिटल प्रवर्द्धन वर्ष’ का रूपमा मनाउने योजना अनुरूप ग्राहककेन्द्रित कार्यक्रम ल्याएको जनाएको छ ।
बैंकका अनुसार मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये वैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गर्ने तीन जना ग्राहकलाई गोलाप्रथाबाट आकर्षक भ्रमण प्याकेज प्रदान गरिनेछ । विजेता तीन जनाले आन्तरिक पर्यटनअन्तर्गत आफ्नो जोडीसहित पोखरा, चितवन र मनकामना भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
यस्तै, डिजिटल बैंकिङलाई थप प्रोत्साहन गर्न बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न डिजिटल कारोबारबापत प्रदान गरिने रिवार्ड पोइन्ट प्रणालीलाई थप प्रवर्द्धन गर्ने जनाएको छ । ग्राहकले प्राप्त गर्ने रिवार्ड पोइन्ट ‘लभ पोइन्ट्स रिवार्ड्स’ एपमा जम्मा हुनेछन्, जुन प्ले स्टोर तथा एप स्टोरमार्फत डाउनलोड गर्न सकिनेछ । उक्त रिवार्ड पोइन्ट ग्राहकले निश्चित सर्तअनुसार विभिन्न सामान खरिद तथा अन्य प्रयोजनमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
यसैगरी, नयाँ वर्ष २०८३ को अवसरमा बैंकले सुलभ ब्याजदरमा महालक्ष्मी घर कर्जा योजना समेत सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत आवासीय तथा व्यापारिक घर-जग्गा खरिद, घर निर्माण, अपार्टमेन्ट खरिद, घर थप, पुनर्निर्माण तथा मर्मतसम्भारका लागि न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्षसम्मको कर्जा उपलब्ध गराइनेछ । उक्त कर्जामा ७ वर्षसम्म स्थिर ब्याजदरको सुविधा समेत रहने बैंकले जनाएको छ ।
‘सबल बैंक, सफल सहकार्य’ नारालाई आत्मसात गर्दै आएको बैंकका देशभर १०३ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने बैंकसँग ८ लाख ५० हजारभन्दा बढी ग्राहक आबद्ध छन् ।