पर्यटन क्षेत्रका लागि कस्तो बन्यो २०८२ ?

काठमाडौं । नेपालको पर्यटन क्षेत्रका लागि वर्ष २०८२ मिश्रित रह्यो । यो क्षेत्रमा उत्साह र चुनौती दुवै देखिए । पर्यटक आगमनमा केही सुधार भए पनि जेनजी आन्दोलन, मध्यपूर्व–द्वन्द्वका असर तथा राजनीतिक र सामाजिक अस्थिरताले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पारे । फलस्वरूप अपेक्षित रूपमा पर्यटन क्षेत्रले उचाइ हासिल गर्न सकेन ।

त्यस्तै, विश्वव्यापी आर्थिक सुस्तता, हवाई इन्धन र भाडा वृद्धि, प्रमुख गन्तव्यहरूमा पूर्वाधारको सीमितताले पनि अपेक्षित पर्यटन विस्तारमा बाधा पुर्यायो । आन्तरिक पर्यटनमा केही सकारात्मक गतिविधि देखिए पनि समग्रमा अपेक्षित पर्यटन क्षेत्रको लागि चुनौती नै रह्यो ।

भदौ २३ र २४ गते गतेको जेनजी आन्दोलन

सन् २०२५ लाई फर्केर हेर्दा पर्यटन क्षेत्रले मात्रै नभएर सिंगो देशले नै बिर्सन नसक्ने घटना भदौ २३ र २४ गते घट्यो । जेनजी आन्दोलनको कारण देशका महत्त्वपूर्ण अंगहरू सिंहदरबार, संसद् भवन, अदालतलगात भवन जलेर ध्वस्त हुन पुगे । यो घटनाले देशलाई केही वर्ष पछाडि धकेल्यो नै साथसाथै नेपालको पर्यटन क्षेत्रलाई पनि गहिरो असर पारेको छ।

पर्यटन सिजनको सुरुवातमै देशमा यस्तो घटना सिर्जित हुँदा पर्यटनको आगमन घट्न पुग्यो । विभागको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजारको हाराहारीमा पर्यटक भित्रिएका छन् । आन्दोलनमा हिल्टन, हायात रिजेन्सीसहित दुई दर्जन होटलमा क्षति पुग्योे । हिल्टनजस्तो अन्तर्राष्ट्रिय चेन होटल जलेर ध्वस्त हुँदा यसले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश प्रवाह हुन पुगेको व्यवसायीहरू बताउँछन् । यो घटनापछि यो क्षेत्रमा कार्यरत २ हजारभन्दा बढी कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर पुग्यो ।

आन्दोलनमा क्षति हुन पुगेको हायात रिजेन्सी अनिश्चितकालको लागि सञ्चालनमा आउन नसक्ने जानकारी गराउँदै बन्द नै हुन पुग्यो । जसको कारण त्यहाँ कार्यरत १३३ जना कर्मचारीले कामबाट बिदा लिनुपर्यो ।

मध्यपूर्व–द्वन्द्वको असर

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको पर्यटन क्षेत्र विभिन्न घटनाबाट प्रभावित रह्यो । जेनजी आन्दोलनपछिको केही समयमै पर्यटन क्रमशः आफ्नै लयमा फर्किन थालेको भए पनि पुनः अर्को घटनाले यस क्षेत्रलाई थप दबाबमा पार्यो ।

मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रणालीमा अस्थिरता देखियो, जसको प्रत्यक्ष असर नेपालमा पर्यटक आगमनमा पर्यो । विशेषगरी मध्यपूर्वका देशहरूबाट हुने उडानहरू अस्थायी रूपमा रद्द वा स्थगित हुँदा यात्रु आवागमन प्रभावित भयो । फलस्वरूप फ्लाइट क्यान्सिलेसन बढ्नुका साथै बुकिङहरू पनि घट्न थाले, जसले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान प्रक्रियालाई सुस्त बनाएको व्यवसायीहरु बताउँछन् ।

मध्यपूर्व द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा हवाई इन्धनको लागत पनि महँगो हुन थाल्यो । इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा समेत बढेको छ । यसको प्रत्यक्ष मारमा पर्यटक तथा हवाई यात्रुहरू परेका छन् ।

नक्कली बीमा दाबीमा संलग्न पक्राउ 

यसै वर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकहरूको नक्कली उद्धार (फेक रेस्क्यु) मा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । यो कदमलाई पर्यटन क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा लिइएको छ ।

विगत लामो समयदेखि नेपालमा हुने नक्कली उद्धार गतिविधिबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लगातार प्रश्न उठ्दै आएको थियो । विशेषगरी ट्रेकिङ तथा हिमाली क्षेत्रमा बीमा दाबीका नाममा हुने अनावश्यक हेलिकप्टर उद्धार र मिलेमतोका घटनाले पर्यटन क्षेत्रको छविमा असर पार्दै आएको थियो । 

यसै सन्दर्भमा सीआईबीले पछिल्लो समय गरेको अनुसन्धान र सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले पर्यटन क्षेत्रभित्र देखिएका अनियमितता नियन्त्रणमा सहयोग पुग्ने र नेपालको साहसिक पर्यटनको विश्वसनियता बढाउने अपेक्षा गरिएको छ ।

नयाँ होटलहरू भित्रिए 

चुनौतीको बाबजुत पनि विंस २०८२ मा अन्तर्राष्ट्रिय चेन होटलहरू भित्रिएका छन्, जुन नेपालको पर्यटन क्षेत्रको लागि सकारात्मक पाटो हो । सन् २०२५ मा केही तारे होटलहरू निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने केही निर्माण सुरु भएका छन् ।

अन्तर्राष्ट्रिय ब्राण्ड मोक्सी होटल्स ब्राण्डको ‘मोक्सी काठमाडौं’ यसै वर्ष सञ्चालनमा आएको छ । एमएस ग्रुप अन्तर्गतको इन्टरनेसनल हिमालय हस्पिटालिटी एन्ड होटलले यसलाई निर्माण गरेको हो ।

सन् २०२५ को जनवरीतिर काठमाडौंको सुकेधारामा फ्रान्सेली ब्राण्डको पाँचतारे ‘होटल मक्र्योर’ सञ्चालनमा आएको छ । त्यस्तै सन् २०२५ को नोभेम्बरतिर सञ्चालनमा आएको पाँच तारे होटलको नाम हो होटल टुलिप । चितवनको सौरहवामा सञ्चालनमा आएको यो होटल फ्रान्सको लुभ्र होटल्स ग्रुपको ब्राण्ड रोयल टुलिपलाई केटिएम हस्पिटालिटीले सञ्चालनमा ल्याएको हो ।

त्यस्तै, पोखरामा चार तारे होटल टेम्पल बेल बुटिक, बुवटलमा हायात प्यालेस, भैरहवामा सिद्धार्थ भिलेजलगायत तारे होटलहरू सञ्चालनमा आएका छन् । धनगढीमा २ अर्ब २० करोड लगानीमा पाँचतारे ‘होलिडे इन आईएचजी’ निर्माण हुँदैछ । क्लव चौलानीको लगानी रहेको यस होटलमा अन्तर्राष्ट्रिय चेन होटल ‘होटल इन आइएचजी’को व्यवस्थापन रहेको छ ।

नीतिगत निर्णय

पर्यटन क्षेत्रको लागि सन् २०२५ मा सरकारले केही सकारात्मक नीतिगत निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत हवाइ वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेको छ । 

यो व्यवस्थासँगै अब स्थलमार्गबाट आउने पर्यटक विशेषगरी भारतीय पर्यटकलाई थप सहज हुने भएको छ । यसअघि भारतीय नागरिकले भारु २५ हजारभन्दा बढी बोकेर ल्याउन नपाउने व्यवस्था थियो । त्यस्तै, बजेटमार्फत सरकारले होटललाई उत्पादनमूलक उद्योग सरह छुट दिने निर्णय ग¥यो । जुन निर्णयले पर्यटन व्यवसायीहरू निकै उत्साहित भए ।

सन् २०२५ मा सरकारले विदेशी पर्यटकका लागि लाग्दै आएको पदयात्रा (ट्रेकिङ) अनुमति दस्तुरमा परिवर्तन गर्यो । सरकारले अध्यागमन नियमावली, २०५१ संशोधन गर्दै हालसम्म लागू रहेको पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० डलर लिने व्यवस्था हटाइएको छ ।

नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकले पदयात्रा अनुमति लिन प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा मात्र तिर्नुपर्नेछ । सरकारले यस कदमलाई पर्यटनमैत्री सुधारका रूपमा प्रस्तुत गरेको छ भने यसले विदेशी पर्यटकलाई राहत दिने अपेक्षा गरिएको छ ।

हवाई दुर्घटना

वर्ष २०८२ मा हवाई क्षेत्रमा केही दुर्घटना भए पनि मानवीय क्षति भने भएन । यस अवधिमा दुई हेलिकप्टर र एउटा विमान दुर्घटनामा परेका छन् ।

२०८२ कार्तिक १३ गते लुक्लाबाट उडेको अल्टिच्युड एयरको हेलिकप्टर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको थियो । उक्त घटनामा मानवीय क्षति नभए पनि क्याप्टेन विवेक खड्का घाइते भएका थिए ।

त्यसको करिब पाँच महिनापछि, २०८२ चैत ४ गते एयर डाइनेस्टीको ९एन–एएफक्यु हेलिकप्टर दुर्घटनामा पर्यो । काठमाडौंबाट खोटाङका लागि उडेको उक्त हेलिकप्टर केपिलासगढी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार रहेका थिए, जसमध्ये एक जना घाइते भएका थिए ।

यसै वर्ष भद्रपुर विमानस्थलमा बुद्ध एयरको एटीआर–७२ विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो। काठमाडौंबाट भद्रपुरका लागि उडेको उक्त विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । दुर्घटनामा को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका थिए, तर कुनै मानवीय क्षति भएन ।

व्यवसायीको नजरमा वर्ष २०८२

होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यका अनुसार यस वर्ष पर्यटन तथा होटल व्यवसाय अपेक्षाअनुसार सन्तोषजनक हुन सकेन । हान महासचिव शाक्यले जेन–जी आन्दोलन र मध्यपूर्वमा जारी द्वन्द्वका कारण वर्षभर नै पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको बताए ।

जेनजी आन्दोलनपछि केही सुधार हुने अपेक्षा राखिएको भएपनि अर्को घटनाले झन् प्रभावित भएको शाक्कको भनाई छ । ‘सरकार परिवर्तनपछि केही सुधार हुने आशा गरेका थियौं, तर पुनः मध्यपूर्वमा युद्ध चर्किँदा नेपाल आउने पर्यटक संख्या प्रभावित भयो,’ उनले भने । 

विशेषगरी ट्रेकिङ सिजनमै व्यवसाय कमजोर देखिएको उनले उल्लेख गरे । ‘यो मुख्य सिजन हो, तर अपेक्षित पर्यटक आएनन् र युरोपियन पर्यटकका लागि यात्रा कठिन भइरहेको छ, जसका कारण करिब ५० प्रतिशतसम्म बुकिङ क्यान्सिल भएको अवस्था छ,’ शाक्यले भने । 

हाल केही भारतीय पर्यटकको आगमन बढ्दो क्रममा देखिए पनि त्यसले होटल व्यवसायलाई पर्याप्त राहत दिन नसकेको उनले बताए । ‘नेपालका अधिकांश होटलहरू विदेशी पर्यटकमा निर्भर छन्, त्यसैले भारतीय पर्यटक मात्रै पर्याप्त हुँदैन,’ उनले स्पष्ट पारे ।

यो वर्ष पूर्वाधार विकास र हवाई कनेक्टिभिटीमा पनि अपेक्षित सुधार हुन नसकेको शाक्यको गुनासो छ । ‘फ्लाइट कनेक्टिभिटी पर्याप्त रूपमा विस्तार हुन सकेको छैन,’ उनले भने ।

यस वर्ष पनि पर्यटन क्षेत्रका लागि अपेक्षित नीतिगत सुधार हुन नसकेको उनको निष्कर्ष छ । ‘पर्यटनलाई उद्योगसरह मान्यता दिने कुरा भए पनि कार्यविधि नआउँदा त्यसका सुविधाहरू व्यवहारमा लागू हुन सकेका छैनन्,’ उनले थपे । नयाँ सरकारबाट भने सकारात्मक अपेक्षा राखिएको उनले बताए । शाक्य भन्छन् ‘हालको सरकारले पर्यटन क्षेत्र सुधारका लागि प्रभावकारी कदम चाल्ने विश्वास छ ।’ 

होटल व्यवसायी महासंघ नेपालका नवनियुक्त अध्यक्ष शंकर भण्डारीले पनि यस वर्ष पर्यटन तथा होटल क्षेत्रले चुनौती सामना गर्नुपरेको बताएका छन् । 

भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरुद्धको आन्दोलनले देशलाई थप अस्थिर बनाएको उनको भनाइ छ । ‘नेपालको इतिहासमै दुर्लभ र चुनौतीपूर्ण अवस्था देखियो,’ उनले भने । उक्त आन्दोलनका क्रममा निजी क्षेत्रले लगानी गरेका ठूला चेन होटलहरूमा तोडफोड, आगजनी र लुटपाटका घटना भएको उनले उल्लेख गरे ।

उनका अनुसार विदेशी पर्यटकहरू त्रासका कारण फर्किन बाध्य भए, जसले आन्तरिक पर्यटनमा समेत ठूलो असर गर्यो । उनले आफूले सञ्चालन गरेको ‘प्रेसिडेन्ट’ होटलमा समेत आक्रमणको प्रयास भएको जानकारी दिए, जसलाई उनले समग्र पर्यटन तथा सेवा क्षेत्रका लागि गम्भीर संकेतका रूपमा व्याख्या गरे । 

राजनीतिक अस्थिरताबीच सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको र त्यसपछि फागुनमा निर्वाचन सम्पन्न भएको उनले स्मरण गरे । ‘चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ बहुमत ल्याएपछि व्यवसायीहरूमा केही आशा पलाएको छ,’ उनले भने ।

सरकारले पर्यटन क्षेत्रका लागि नयाँ कार्ययोजना अघि सारेको र सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेकोमा व्यवसायीहरू उत्साहित भएको उनले बताए । ‘नेपाल आरोग्य पर्यटनको केन्द्र बन्ने सम्भावना बोकेको देश हो,’ भण्डारी भन्छन् । 

हालको इन्धन अभाव र आर्थिक परिस्थितिलाई ध्यानमा राख्दै सरकारले लागू गरेको सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था निरन्तर राख्नुपर्ने उनको माग छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुका साथै ‘आउटिङ’ संस्कृति विकास गर्न सहयोग पुग्ने उनको तर्क छ । 

त्यसैगरी, होटल तथा रेस्टुरेन्टहरूलाई राति १० बजेपछि बन्द गर्नुपर्ने नियम हटाएर २४ घण्टा सञ्चालन गर्न दिनुपर्ने र पर्यटन क्षेत्रलाई विशेष उद्योगको रूपमा मान्यता दिनुपर्ने उनले जोड दिए ।  साना तथा मझौला व्यवसायीका लागि स्टार्टअप र क्षमता अभिवृद्धि कार्यक्रम ल्याउन पनि उनले सरकारसँग आग्रह गरेका छन् । 

Share News