काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा सरकार गठन भयो । निवर्तमान प्रधानमन्त्री कार्की सरकारले फागुन २१ गते आम चुनाव सम्पन्न गरायो । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २८२ सिट जित्दै प्रधानमन्त्री बने बालेन्द्र शाह (बालेन) । बालेन नेतृत्वको सरकारमा डा. स्वर्णिम वाग्ले अर्थमन्त्री छन् । वाग्ले तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
यसैबीच, अर्थमन्त्री वाग्लेले निर्वाचन हुनुभन्दा ९ दिनअघि बैंकबाट करोड रुपैयाँ ऋण लिएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका वाग्लेले ग्लोबल आइएमई बैंकबाट २०८२ फागुन १२ गते १ करोड ५ लाख रुपैयाँ ऋण लिएका हुन् । तर, उनले कुन प्रयोजनका लागि बैंकबाट ऋण लिएका हुन् भन्ने स्पष्ट खुलाइएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री वाग्लेले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख रुपैयाँ ऋण लिई २०७० सालमा तिरेका थिए भने स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट २०७३ मा लिएको ७५ लाख रुपैयाँ ऋण २०७९ मा चुक्ता गरेका थिए ।
त्यसैगरी, उनले २ करोड ५० लाख रुपैयाँ व्यक्तिगत सापटी लिएको उल्लेख छ । उक्त सापटी २०८४ सम्म हाइड्रो सेयर तथा अन्य सम्पत्ति बिक्री गरेर तिर्ने योजना रहेको विवरणमा जनाइएको छ ।