काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस एनटर्क्यू (NTORQ) स्कुटर प्रयोगकर्ताको संख्या १ लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ । नेपाली बजारमा बलियो उपस्थिति र लोकप्रियता कायम गर्दै एनटर्क्यूले सफलता हासिल गरेको कम्पनीले जनाएको छ ।
यस उपलब्धिको खुसीयाली मनाउन जगदम्बा मोटर्सले शनिबार एनटर्क्यू ओनर्स ग्रुप (NOG) राइड आयोजना गरेको थियो । टीभीएसको नक्साल शोरुमबाट सुरु भएको राइड शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्ट पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा ५० भन्दा बढी ग्राहकसहित २० भन्दा बढी कन्टेन्ट क्रिएटर, मोटो भ्लगर तथा सञ्चारकर्मी गरी कुल ७० भन्दा बढीको सहभागिता रहेको थियो ।
कम्पनीका अनुसार कार्यक्रम केवल यात्रा मात्र नभई एनटर्क्यू प्रयोगकर्ताबीच सामुदायिक उत्सवका रूपमा आयोजना गरिएको हो । सहभागीहरूले सुरक्षित यात्रा तथा सामूहिक राइडिङसम्बन्धी तालिम प्राप्त गर्नुका साथै एक–आपसमा अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रममा मनोरञ्जनात्मक खेल तथा विभिन्न गतिविधि पनि समावेश गरिएको थियो । विजेताहरूलाई आकर्षक उपहार प्रदान गरिएको थियो भने सबै सहभागीलाई प्रमाणपत्र वितरण गरिएको कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नेपालमा १ लाख ५० हजार चालकको साथ पाउनु टीभीएस एनटर्क्यूका लागि गौरवको विषय भएको बताए । उनले यो ग्राहकहरूको अटुट विश्वास र उत्साहको प्रमाण भएको उल्लेख गर्दै यस्ता कार्यक्रममार्फत ग्राहकसँगको सम्बन्ध थप प्रगाढ बनाउने प्रयास गरिएको बताए ।
कम्पनीका अनुसार उत्कृष्ट कार्यक्षमता, आकर्षक डिजाइन र आधुनिक प्रविधिका कारण टीभीएस एनटर्क्यू नेपाली युवामाझ लोकप्रिय स्कुटरका रूपमा स्थापित भएको छ । जगदम्बा मोटर्सले आगामी दिनमा पनि यस्तै सृजनशील कार्यक्रममार्फत आफ्ना प्रयोगकर्तासँग सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।