सार्वजनिक खरिद ऐन संशोधन र महँगीबारे परिसंघ र महासंघबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा मंगलबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेसहित पदाधिकारीहरूलाई बधाई तथा स्वागत गरे ।

सो अवसरमा हाल पेट्रोलियम पदार्थमा भएको उच्च महँगी र त्यसले पारेको असर, सरकारले संशोधन गर्न लागेको सार्वजनिक खरिद ऐन तथा सोसम्बन्धी विषयमा समेत छलफल भयो । पेट्रोलियम पदार्थमा भएको उच्च महँगीका कारण निर्माण सामग्री महँगो हुँदा परियोजनाहरूको लागत ह्वात्तै बढेकाले सरकारले विगतमा जस्तै सहुलियतको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ ।

परिसंघका अध्यक्ष पाण्डेले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत तथा कानुनी सुधारका विषयमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई आगामी १० वर्षभित्र १०० अर्ब डलरको बनाउन पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । परिसंघले देशमै रोजगारी सिर्जना, स्वदेशी वस्तुहरूको उपभोग बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न 'मेक इन नेपाल' स्वदेशी अभियान सञ्चालन गरिरहेको पनि बताए । उनले सार्वजनिक खरिद ऐनलाई दूरगामी रूपमा दिगो निकास दिने गरी संशोधन गरिनुपर्नेमा जोड दिए ।

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेकाले सहकार्य गरेर अगाडि बढ्न सहज रहेको बताए । उनले सरकारले पूर्वाधार विकासका लागि पैसा छैन भनेर विकास निर्माण रोक्न नहुनेमा जोड दिँदै वैकल्पिक स्रोतमार्फत पूर्वाधारमा लगानी बढाउनुपर्ने बताए ।

कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरु, परिसंघका पदाधिकारी सदस्य सन्दीप शारडा, वाईसीएनसीका अध्यक्ष वसन्त बहादुर चन्द, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत रहेका थिए ।
 

Share News