काठमाडौं । अमेरिकामा तीन नेपाली बेपत्ता भएका छन् । वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले बेपत्ता भएका तीन नेपाली नागरिकको खोजीका लागि सार्वजनिक सहयोगको अपिल गरेको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै बेपत्ता व्यक्तिहरूका आफन्तबाट जानकारी प्राप्त भएको र सम्बन्धित क्षेत्रका स्थानीय कानुन कार्यान्वयन निकायहरूसँग समन्वय गरिएको जनाएको छ ।
साथै दूतावासले नेपाली समुदायका संस्थाहरू र प्रवासी नेपालीहरूलाई खोजी कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ ।
२९ वर्षीय पवन गैरे मार्चमा नेब्रास्काबाट फ्लोरिडातर्फ यात्रा गरिरहेका थिए । त्यसयता उनी सम्पर्कविहीन छन् । उनको सवारीसाधन मार्च २७ मा फ्लोरिडाको पेन्साकोला बीचमा फेला परेको थियो ।
गैरेले मे २०२५ मा नेब्रास्का-लिन्कन विश्वविद्यालयबाट विद्युत् इन्जिनियरिङमा पीएचडी पूरा गरेका थिए ।
नेब्रास्का राज्यका अधिकारीहरू खोजी कार्यमा संलग्न छन् । कसैसँग सम्बन्धित जानकारी भएमा ४०२-४११-६००० मा लिन्कन प्रहरी विभाग वा १-८७७-४४१-५६७८ मा नेब्रास्का मिसिङ पर्सन्स क्लियरिङहाउसमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
२६ वर्षीय विकास न्यौपाने टेक्सासको आर्लिङ्टन क्षेत्रमा अन्तिमपटक देखिएका थिए। उनी अगस्ट ४, २०२१ देखि टेक्सास विश्वविद्यालय, आर्लिङ्टनमा अध्ययनरत थिए र करिब दुई वर्षदेखि परिवारसँग सम्पर्कविहीन छन् ।
उनका परिवारसँग ९८२८५५४३३१ (आमा) र ९८४१९६०२९० (बहिनी) मा वा [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिन्छ ।
यसैबीच केशव कार्कीका परिवारले न्यूयोर्क क्षेत्रमा उनको खोजीका लागि अपिल जारी गरेका छन् ।
उनका आमाको अवस्था गम्भीर रहेको र उनी सघन उपचार कक्ष (आईसीयू) मा रहेकाले उनलाई तुरुन्त सम्पर्क गर्न आवश्यक भएको परिवारले जनाएको छ ।
परिवारले कार्कीसँग सम्पर्क टुटेको बताउँदै उनको अवस्थाबारे जानकारी हुने जो कोहीले +९७७-९८६-२६७५२१३ मा व्हाट्सएपमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।
दूतावास र परिवारहरूले सम्बन्धित जानकारी भएका सबैलाई अगाडि आएर खोजी कार्यमा सहयोग गर्न अपिल गरेका छन् । नेपाली दूतावाससँग २०२-७७४-४७८० वा २०२-४८०-६८५८ मा, अथवा [email protected] वा [email protected] इमेलमार्फत सम्पर्क गर्न सकिने जनाइएकाे छ ।