काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानले अघि सारेको पछिल्लो प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले बिहीबार साँझ मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव पठाएको भए तापनि ट्रम्पले त्यसलाई अपर्याप्त भन्दै अस्विकार गरेका हुन् ।
इरानी सरकारी सञ्चार माध्यम आईआरएनएले प्रस्तावको विस्तृत विवरण सार्वजनिक नगरे पनि विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले दिगो शान्ति स्थापना नै आफूहरूको प्राथमिकता रहेको दाबी गरेका छन् । यद्यपि, फ्लोरिडामा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानी नेतृत्व अलमलमा परेको र आन्तरिक रूपमा विभाजित रहेको टिप्पणी गरे ।
ट्रम्पका अनुसार इरान सम्झौता गर्न त चाहन्छ, तर उसको नेतृत्व तहमा साझा सहमतिको अभाव देखिन्छ । यसअघि अप्रिल २६ र २७ मा गरिएका प्रस्तावहरू पनि ट्रम्पले अस्वीकार गरिसकेका छन् । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार इरानको नयाँ प्रस्तावमा आणविक मुद्दालाई समावेश नगरिएका कारण ट्रम्प असन्तुष्ट बनेका हुन् ।
इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्नबाट रोक्ने आफ्नो अडानमा ट्रम्प अडिग देखिएका छन्, जसका कारण तत्काल वार्ता र शान्तिको सम्भावना थप चुनौतीपूर्ण बनेको छ ।
इस्लामावादको वार्ता असफल भएपछि इरानले अमेरिकालाई यसअघि पनि प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा तत्कालका लागि स्ट्रेट अफ हर्मुज खुला गरेर युद्ध अन्त्य गर्ने र आणविक कार्यक्रमबारे पछि छलफल गर्ने भनिएको थियो ।
ट्रम्पले सो प्रस्तावमा पनि असन्तुष्टि जनाएका थिए । अहिले हर्मुजमा अमेरिकाले नाकाबन्दी लगाउँदा इरानले तेल बेच्न पाएको छैन । अहिले तेल बेच्न नपाएकाले इरानको तेल भण्डार भरिन लागेको बताइएको छ ।
भण्डारण क्षमतामा दबाब बढेपछि इरानले उपयोग गर्न छाडिएका पुराना ट्यांकीसमेत प्रयोग गर्न थालेको भनेर मंगलबार मात्रै अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ ।
केही साता नाकाबन्दी लम्बिए इरानले तेलखानी नै बन्द गर्नुपर्ने अवस्था देखिन्छ । खानी चालु नहुँदा बिग्रिन सक्छन् । खानी बिग्रिए युद्ध अन्त्य भएपछि पनि इरानले तुरून्तै तेल निकाल्न सक्ने छैन । त्यसैले इरानले ढिलो-चाँडो आणविक कार्यक्रमबारे आफ्नो सर्त मान्नेछ भनेर ट्रम्पले नाकाबन्दी लगाइरहेका छन् ।
त्यो नभए इरानमा फेरि आक्रमण गर्ने विकल्प पनि ट्रम्पका लागि खुला छ । अमेरिकाले फेरि आक्रमण गर्न सक्छ भन्ने अनुमान इरानले पनि गरेको छ । उसले इरानले हवाई प्रतिरक्षा प्रणाली सक्रिय बनाएको र आक्रमण भएमा व्यापक प्रतिक्रिया दिने योजना बनाएको भनेर रोयटर्सले लेखेको छ ।
अमेरिकाले इरान वरपर ठूलो संख्यामा सेना र युद्धपोतहरू जम्मा गरेको छ । इरानलाई सम्झौताका लागि दबाब दिनका लागि अमेरिकाले सैन्य शक्ति जम्मा पारेको भए पनि लामो समयदेखि वार्ता अवरूद्ध हुँदा ट्रम्प फेरि सैन्य कारबाहीतर्फ अघि बढ्ने सम्भावना पनि रहन्छ । अमेरिकाले छोटो र भीषण आक्रमण गर्ने र त्यसपछि इजराइली आक्रमण हुने अनुमान गरेको दुई वरिष्ठ अधिकारीहरूलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ ।
इरानमा पुनः आक्रमणबारे अमेरिकी कंग्रेसका दुई नेताहरूले ट्रम्पको तयारीबारे समेत बुझेका थिए । कंग्रेस नेताहरूसँग ट्रम्पले इरानमा युद्ध लम्ब्याउन संसदको अनुमति आवश्यक नभएको बताएका थिए ।
नेताहरूले इरानमा अमेरिकी विकल्पबारे सोधेका प्रश्नमा ट्रम्पले अहिलै पुनः आक्रमण नगरिने बताएका थिए । ‘के हामी गएर उनीहरूलाई पूर्ण रूपमा ध्वस्त पार्ने हो, कि कुनै सम्झौता गर्ने प्रयास गर्ने हो ? मानवीय दृष्टिकोणले हेर्दा म सैन्य विकल्प रोज्न चाहन्नँ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।