इरानीका नागरिकलाई सर्वोच्च नेता खामेनीको अपिल: ‘सैन्य शक्तिपछि अब आर्थिक लडाइँको पालो’

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले आफ्ना नागरिकलाई ‘आर्थिक लडाइँ’मा पनि संलग्न हुन अपिल गरेका छन् । अर्को लिखित वक्तव्य जारी गर्दै उनले सैन्य युद्धमा अद्वितीय शक्ति प्रदर्शन गरेको र अब आर्थिक र सांस्कृतिक मोर्चामा पनि यस्तै भूमिका खेल्न इरानी जनतालाई आग्रह गरेका हुन् ।

वक्तव्यमा मोज्तबा खामेनीले भनेका छन्, ‘इरानले सैन्य टकरावमा विश्वसामु आफ्नो अद्वितीय शक्ति प्रदर्शन गरेको छ; अब यसले आर्थिक र सांस्कृतिक मोर्चामा पनि आफ्ना शत्रुहरूलाई पराजित गर्नुपर्छ । ’

उनले अगाडि भनेका छन्, ‘कामदारहरूलाई समर्थन गरिनुपर्छ र स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्छ ।’

हाल देशका व्यवसायीहरूले कठिनाइको सामना गरिरहेको उल्लेख गर्दै खामेनीले कर्मचारीहरूलाई हटाउने काम नगर्न निर्देशन दिएका छन् । 

सर्वोच्च नेता बनेदेखि मोज्तबा खामेनी कहिल्यै सार्वजनिक रूपमा देखापरेका छैनन् । यद्यपि उनले सञ्चारमाध्यममार्फत आफ्ना लिखित वक्तव्य जारी गरिरहेका छन् । 

Share News