कान्छाराम कन्स्ट्रक्सनको आम्दानी करोडमा, ऋण ३ अर्ब

काठमाडौं । पूर्णबहादुर तामाङ ‘कान्छाराम’को निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिले सन् २०२५ मा ३७ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी (लेखापरीक्षण नगरिएको) गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५२.८६ प्रतिशत अर्थात् १२ करोड ९० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २४ करोड ४० लाख रुपैयाँ (लेखापरीक्षण गरिएको) सञ्चालन आम्दानी गरेको थियो ।

यद्यपि आम्दानी बढे पनि कम्पनीको नाफा मार्जिनमा भने गिरावट आएको छ । सन् २०२४ मा ३३ प्रतिशत रहेको मार्जिन सन् २०२५ मा घटेर २६ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ । अघिल्ला वर्षहरूमा कम्पनीको आम्दानीमा उतारचढाव देखिएको छ । सन् २०२३ मा २८ करोड ९० लाख, सन् २०२२ मा ७७ करोड र सन् २०२१ मा १ अर्ब ६५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि नेपाली काँग्रेसका नेता तथा पूर्वराज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’को हो । ‘ए’ क्लासको कान्छाराम कन्स्ट्रक्सनको स्थापना सन् १९८७ मा भएको हो । कान्छाराम कन्स्ट्रक्सनले देशभर सडक, पुल, भवन लगायतका विभिन्न पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले स्वतन्त्र रूपमा निर्माण कार्य सञ्चालन गर्नुका साथै विभिन्न परियोजनाका लागि आवश्यक योग्यता पूरा गर्न अन्य कम्पनीहरूसँग ज्वाइन्ट भेन्चर मार्फत सहकार्य पनि गर्ने गरेको छ ।

उच्च कार्यशील पुँजी कर्जामा निर्भरता बढेसँगै ब्याज खर्च १४ करोड ९० लाख रुपैयाँबाट बढेर गत वर्ष १६ करोड ७० लाख रुपैयाँ पुगेको छ । कम्पनीको ग्रस क्यास एक्रुअल सन् २०२५ मा ४ करोड रुपैयाँ पुगेपनि अघिल्लो वर्षको ९० लाख रुपैयाँको तुलनामा सुधार देखिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३४ करोड ४७ लाख रुपैयाँ दीर्घकालीन, २० करोड ४९ लाख रुपैयाँ अल्पकालीन र २ अर्ब ४५ करोड ३ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन गरी कुल ३ अर्ब रुपैयाँ लिएको छ । 

कम्पनीले लिएको कर्जा परिवर्तनीय (फ्लोटिङ) ब्याजदरमा आधारित रहेको छ, जहाँ बैंक तथा वित्तीय संस्थाहरूको आधार दरमा निश्चित प्रिमियम थपेर मासिक रूपमा ब्याजदर निर्धारण गरिन्छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूको आधार दर प्रणालीमा उपलब्ध तरलताको अवस्थाअनुसार उतारचढाव भइरहने हुँदा ब्याजदर पनि अस्थिर रहने गरेको छ । यस्तो अवस्थामा अपेक्षाभन्दा उच्च ब्याजदर पुगेमा कम्पनीको नाफा मार्जिन खुम्चिन सक्ने र तरलता अवस्थामा थप दबाब पर्न सक्ने जोखिम रहन्छ । त्यसैले कम्पनीले लिएको कर्जा ब्याजदरको उतारचढावप्रति संवेदनशील रहेको देखिन्छ ।​​​​​​​

कान्छाराम कन्स्ट्रक्सनले प्रायः सबै काम सरकारी निकायबाट टेन्डरमार्फत प्राप्त गर्ने गरेको छ । यस्तो प्रणालीमा कम्पनीले प्रतिस्पर्धी दरमा बोलपत्र पेश गर्नुपर्ने हुन्छ, जसले कम मूल्यमा ठेक्का लिनुपर्ने जोखिम रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले सञ्चालन गर्ने परियोजनाहरूको प्रकृतिअनुसार विभिन्न प्रशासनिक स्वीकृति तथा अन्य प्रक्रियागत कारणले ढिलाइ हुने गरेको जनाएको छ । यस्ता ढिलाइले परियोजना सम्पन्न हुन समय लाग्ने मात्र होइन, आम्दानीमा समेत असर पर्ने गरेको कम्पनीको भनाइ छ । साथै, परियोजना समयमै सम्पन्न गर्न कम्पनीको सञ्चालन क्षमता र ग्राहक (मुख्यतः सरकारी निकाय) बाट चरणगत भुक्तानी समयमै प्राप्त हुन सकिरहेको छैन ।

कान्छाराम कन्स्ट्रक्सन पूर्ण रूपमा लक्ष्मी माया लामा र दीपक थिङको स्वामित्वमा रहेको छ । कम्पनीको प्रबन्ध निर्देशक भने पूर्णबहादुर तामाङ रहेका छन् । निर्माण क्षेत्रमा दुई दशकभन्दा बढी अनुभवी उनी कम्पनीको समग्र व्यवस्थापन तथा दीर्घकालीन रणनीतिमा संलग्न छन् । त्यसैगरी सञ्चालक दीपक थिङसँग पनि निर्माण ठेक्का व्यवसायमा एक दशकभन्दा बढी अनुभव रहेको छ । कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको आम्दानी मुख्यतः सरकारी निकाय प्रदेश तथा स्थानीय तहबाट प्राप्त हुने ठेक्का मार्फत हुने गरेको छ । अर्डर बुक विशेषगरी सरकारी भवन निर्माण परियोजनामा केन्द्रित रहेको छ । 

Share News