एफएनसीसीआई निर्वाचन अपटेड : १ बजेसम्म ७५६ मत खस्यो

व्यवसायीको उत्साहजनक सहभागिता

महासंघकाे नयाँ नेतृत्व चयनका लागि भाेट हाल्दै अध्यक्ष चन्द्र ढकाल ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ । 

महासंघको ५८औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि प्रज्ञा प्रतिष्ठान, कमलादीमा मतदान भइरहेको हो ।

निर्वाचन समितिले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार एशोसिएटतर्फ कुल १८५२ मतदातामध्ये हालसम्म ६७० मत खसेको छ ।

त्यसैगरी, वस्तुगततर्फ कुल १२४ मतमध्ये हालसम्म ४६ मत खसेको छ भने जिल्ला नगरतर्फ कुल १२९ मतदातामध्ये हालसम्म ४० मत खसेको छ ।

कर्णाली प्रदेशबाट भने अहिलेसम्म कुनै पनि मत नखसेको निर्वाचन समितिले जनाएको छ।

महासंघको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्नेछन् । उनीबाहेक अन्य विभिन्न पदाधिकारी र कार्यकारिणी सदस्य पदका लागि भने निर्वाचन भइरहेको हो ।

महासंघमा ४ उपाध्यक्षसहित कुल ७३ पदमा प्रतिस्पर्धा हुँदैछ । उपाध्यक्ष पदमध्ये जिल्ला–नगरतर्फ २, एसोसिएटतर्फ १ र वस्तुगततर्फ १ जना चयन हुनेछन् ।

यस निर्वाचनमा २ हजारभन्दा बढी मतदाताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मतदाता संरचनाअनुसार एसोसिएटतर्फ १ हजार ८५०, जिल्ला–नगरतर्फ १२९, वस्तुगत संघतर्फ १०७, वस्तुगत महासंघतर्फ १७, द्विराष्ट्रिय तर्फ ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् ।

यसपटकको निर्वाचनमा मुख्य दुई समूहबीच प्रतिस्पर्धा भइरहेको छ । स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूह र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको हो ।

श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्ष उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उम्मेदवार छन् ।

त्यस्तै, हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । साथै महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी छन् ।

Share News