बुवाको पथ पछ्याउँदै प्रवलजंग

महासंघको उपाध्यक्ष बने प्रवलजंग, पद नदोहोर्याउने प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । उनले ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै एसोसिएट उपाध्यक्षमा विजयी हासिल गरेका हुन् । निजी क्षेत्रको नेतृत्वमा उनको आगमनले नयाँ पुस्ताको उपस्थिति अझ स्पष्ट बनाएको छ ।

हाल महासंघको कार्यकारिणी सदस्यका रूपमा रहेका उनी अब उपाध्यक्ष बनेका हुन् । महासंघभित्र उनको बढ्दो प्रभाव र लामो समयदेखि गरिएको संस्थागत अभ्यासलाई उपहारस्वरूप उनलाई उद्योगी व्यवसायीले मत दिएर जिताएका छन् । 

व्यावसायिक परिवारमा जन्मिएका पाण्डे महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा हुन् ।  उनी बुवाको पथ पछ्याउँदै महासंघको पदाधिकारीमा पुगेका हुन् । 

उनले आफ्नो पहिचान केवल पारिवारिक विरासतमा सीमित नराखी दुई दशकभन्दा बढीको व्यावहारिक अनुभव र विविध क्षेत्रमा सक्रिय संलग्नतामार्फत आफूलाई एक सक्षम व्यवसायिक नेताका रूपमा स्थापित गरेका छन् । 

इन्जिनियरिङ पृष्ठभूमि भएका ५१ वर्षीय पाण्डेले आफ्नो करियरको सुरुआत नेपाल टेलिकमबाट गरेका थिए । त्यहाँ काम गर्दा उनले प्रविधि, संरचना र व्यवस्थापनका आधारभूत पक्षहरू नजिकबाट बुझ्ने अवसर पाए, जसले पछि व्यावसायिक यात्रामा विश्लेषणात्मक र प्रणालीगत सोच विकास गर्न सहयोग पुर्यायो ।

त्यसपछि उनी निजी क्षेत्रमा प्रवेश गर्दै सिमेन्ट, औषधि, बैंकिङ र बीमाजस्ता विविध क्षेत्रमा आफ्नो लगानी र संलग्नता विस्तार गर्दै गए । हाल उनी कसमस सिमेन्ट र इस्टर्न कसमसका निर्देशकका रूपमा कार्यरत छन् भने लोमस फर्मास्युटिकल्सका सञ्चालक पनि हुन् ।

null

यसका साथै, फर्चुना ग्रुपमार्फत औषधि प्याकेजिङ सामग्री उत्पादनमा उनको भूमिका छ । स्वास्थ्य उद्योगको आपूर्ति श्रृंखलामा समेत उनको योगदान छ । 

पाण्डेको संलग्नता केवल उत्पादन उद्योगमा मात्र सीमित छैन । उनी निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आबद्ध छन्, जहाँ बैंक तथा वित्तीय क्षेत्रदेखि लिएर समग्र निजी क्षेत्रका तथ्यांकहरू संकलन र व्यवस्थापन गरिन्छ।

यससँगै उनी सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्षका रूपमा पनि कार्यरत छन्, जसले वित्तीय क्षेत्रसँगको उनको गहिरो सम्बन्धलाई थप मजबुत बनाएको छ ।

महासंघमा उनले तीन कार्यकाल कार्यकारीणी सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्, जसले संगठनभित्रको प्रक्रियागत ज्ञान, नेटवर्क र नेतृत्व क्षमतालाई परिपक्व बनाएको छ । अघिल्लो निर्वाचनमा पनि उनले उपाध्यक्ष पदमा दाबी गरेका थिए । तर, टिम व्यवस्थापनको रणनीतिका कारण प्रतिस्पर्धाबाट पछि हटेका थिए । यसपटक भने उनले स्पष्ट तयारी र एजेन्डासहित मैदानमा उत्रिए र अन्ततः एसोसिएट उपाध्यक्ष बन्न सफल भए । 

null

अहिले निजी क्षेत्रको मनोबल निकै खस्किएको समय छ, लामो समयदेखि लगानीका लागि अनुकूल वातावरण बनेको छैन । उनी सरकार र निजी क्षेत्रको मध्येस्थता गरेर सुधार ल्याउने दाबी गर्दै आएका छन् । 

‘यस बेलामा निजी क्षेत्रले आफ्नो धारणा स्पष्ट रूपमा लैजानु पर्ने हुन्छ । लामो समय यो क्षेत्रमा काम गरेको र महासंघमा विभिन्न भूमिका निभाएको कारण मैले यो पदको न्याय गर्छु,’ उनले भनेका छन्, ‘दोस्रो पटक म उपाध्यक्ष बन्दिनँ पनि ।’

उनका अनुसार मुलुकको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन दोस्रो चरणको आर्थिक सुधार अपरिहार्य छ । उनी नीतिगत स्थिरतालाई लगानीको आधार मान्दै कर प्रणालीलाई वैज्ञानिक बनाउनु पर्ने, बहुदरको मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्नुपर्ने र कर चुहावट नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको बताउँछन् । 

आयकर दर घटाउने, उद्योगका लागि सहुलियत दरमा विद्युत उपलब्ध गराउने, उत्पादन लागत कम गर्ने र व्यवसायमैत्री वातावरण निर्माण गर्ने नीति आवश्यक रहेको उनको धारणा छ । उनले हवाई टिकटमा लगाइएको भ्याट खारेज गर्नुपर्ने, मुद्रास्फीतिका आधारमा श्रमिक र निजी क्षेत्रबीच सहकार्य गर्दै न्यूनतम तलब निर्धारण गर्नुपर्ने र भूतप्रवाही कर नलगाउने प्रतिबद्धता सुनिश्चित गर्नुपर्ने विषय उठाउँदै आएका छन् । 

प्रवलजंग पाण्डे एक यस्ता व्यवसायी हुन्, जसले इन्जिनियरिङ पृष्ठभूमि, विविध औद्योगिक अनुभव र संस्थागत संलग्नताको संयोजनमार्फत आफूलाई निजी क्षेत्रको उदीयमान नेताका रूपमा स्थापित गरेका छन् । 

Share News