लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८२’ सम्पन्न, डिजिटल शिक्षामा नयाँ पहल

काठमाडौं । लुम्बिनी प्रदेशको बुटवलमा ‘डिजी स्कुल अवार्ड २०८२’ सम्पन्न भएको छ । डिजी स्कुल ग्लोबलको आयोजनामा तथा टेकपाइला इनोभेसनको सहकार्यमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा प्रविधिमैत्री शैक्षिक संस्थाहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले नेपालका विद्यालय तथा कलेजहरूमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल शिक्षा विस्तार गर्ने उद्देश्यसहित डिजी स्कुलले बेलायती मापदण्डअनुसारको कम्प्युटर पाठ्यक्रम तथा अन्तरक्रियात्मक ई–लर्निङ प्रणाली सञ्चालन गरिरहेको जानकारी दिए । उनले नेपाली विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै विश्वस्तरीय डिजिटल सीप प्रदान गरी भविष्यको प्रतिस्पर्धात्मक बजारका लागि सक्षम बनाउने लक्ष्य रहेको बताए ।

सोही अवसरमा डिजी ग्रुपअन्तर्गत स्थापना गरिएको नयाँ सूचना प्रविधि कम्पनी ‘टेकपाइला इनोभेसन’को औपचारिक घोषणा गरिएको थियो । कम्पनीका एसोसिएट डाइरेक्टर तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले युवाहरूलाई प्रविधिमार्फत दक्ष र आत्मनिर्भर बनाउने उद्देश्यसहित कम्पनी स्थापना गरिएको बताए । उनका अनुसार शिक्षा र व्यावहारिक प्रविधि क्षेत्रबीचको दूरी घटाउँदै एकेडेमी, बुटक्याम्प तथा विभिन्न साझेदारीमार्फत युवाहरूलाई प्रविधि उद्योगसँग प्रत्यक्ष रूपमा जोड्ने योजना रहेको छ ।

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रमुख अतिथिका रूपमा बोल्दै टेकपाइला इनोभेसनको पहलले सूचना प्रविधि शिक्षा तथा सेवाको आधार मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ‘लर्निङ बाइ अर्निङ’ भन्ने मूल नारालाई आत्मसात गर्दै युवालाई नेपालमै अवसर दिन सके डिजिटल अर्थतन्त्र सुदृढ हुने र दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने बताए ।

कार्यक्रममा सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सका प्रिन्सिपल प्रमोद पौडेल, सूचना प्रविधि विज्ञ अमृत थापा, डिजी स्कुल ग्लोबलकी बिजनेस हेड अनिता महर्जन तथा लुम्बिनी प्रदेश प्रमुख लेखनाथ पन्तलगायतले डिजिटल शिक्षा, प्रविधि र नवप्रवर्तनको महत्वबारे धारणा राखेका थिए ।

बुटवलमा सम्पन्न उक्त कार्यक्रमले लुम्बिनी प्रदेशमा डिजिटल साक्षरता विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणतर्फ नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् । ‘मेड इन नेपाल’ प्रविधि तथा नेपाली सफ्टवेयर इकोसिस्टमलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित सुरु गरिएको यो पहललाई शिक्षा र सूचना प्रविधि क्षेत्रमा सकारात्मक कदमका रूपमा हेरिएको छ । 

Share News