काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक सहरकी मेयर आइलीन वाङले सोमबार राजीनामा दिएकी छन् । अमेरिकी न्याय विभाग (डीओजे) ले उनलाई चीनका लागि अवैध विदेशी एजेन्टको रूपमा काम गरेको आरोप लगाएको केही समयमै उनले राजीनामा दिएकी हुन् ।
५८ वर्षीया वाङले उक्त फौजदारी अभियोग स्वीकार गर्ने सहमति जनाएकी छन् र उनलाई १० वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ ।
अमेरिकी सहायक महान्यायाधिवक्ता बिल एस्सायलीले भने, ‘हाम्रो देशभित्र गोप्य रूपमा विदेशी सरकारका लागि काम गर्ने व्यक्तिहरूले हाम्रो लोकतन्त्रलाई कमजोर बनाउँछन् । चीनले हाम्रो संस्थालाई भ्रष्ट बनाउने प्रयासविरुद्ध मातृभूमिको रक्षा गर्ने हाम्रो अभियानमा यो सहमति अर्को सफलता हो ।’
न्याय विभागका अनुसार वाङ र चिनो हिल्स निवासी ६५ वर्षीय याओनिङ ‘माइक’ सनले जनवादी गणतन्त्र चीन (पीआरसी) सँग मिलेर चीनको हित प्रवर्द्धन गर्ने प्रचार सामग्री सञ्चालन गर्थे । उनीहरूले चलाएको ‘यूएस न्युज सेन्टर’ नामक वेबसाइट स्थानीय चिनियाँ(अमेरिकी समुदायका लागि समाचार स्रोत भएको दाबी गर्थ्यो ।
नोभेम्बर २०२२ मा सिटी काउन्सिलमा निर्वाचित वाङले अभियोग स्वीकारसम्बन्धी सम्झौता सार्वजनिक भएको केही घण्टामै मेयर पद खाली गर्ने घोषणा गरेकी थिइन् ।
लस एन्जलस काउन्टीअन्तर्गत करिब ५४ हजार जनसंख्या रहेको आर्केडियाका अधिकारीहरूले संघीय अधिकारीहरूले उल्लेख गरेका गतिविधि वाङ निर्वाचित हुनुअघि भएका बताएका छन् ।
आर्केडियाका सिटी म्यानेजर डोमिनिक लाजारेट्टोले नगरको वेबसाइटमार्फत जारी गरेको सन्देशमा भने, ‘विदेशी सरकारले स्थानीय निर्वाचित अधिकारीमाथि प्रभाव जमाउने प्रयास गरेको आरोप अत्यन्त चिन्ताजनक छ । हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं ।’
‘यो अनुसन्धान व्यक्तिगत गतिविधिसँग सम्बन्धित छ र आरोपहरू डिसेम्बर २०२२ मा वाङले पदभार ग्रहण गरेपछि बन्द भएका गतिविधिसँग सम्बन्धित हुन् । आन्तरिक समीक्षा पछि हामी पुष्टि गर्न सक्छौं कि नगरको वित्त, कर्मचारी वा निर्णय प्रक्रियामा कुनै असर परेको छैन,’ उनले थपे ।
लाजारेट्टोका अनुसार आगामी बैठकमा बाँकी काउन्सिल सदस्यहरूमध्येबाट नयाँ मेयर र उपमेयर चयन गरिनेछ ।
राष्ट्रिय सुरक्षासम्बन्धी सहायक महान्यायाधिवक्ता जोन ए. आइजनबर्गले भने, ‘अमेरिकामा सार्वजनिक पदमा निर्वाचित व्यक्तिहरूले आफूले प्रतिनिधित्व गर्ने अमेरिकी जनताका लागि मात्र काम गर्नुपर्छ । पीआरसी सरकारी अधिकारीहरूको निर्देशन लिने र कार्यान्वयन गर्ने व्यक्ति अहिले सार्वजनिक विश्वासको पदमा हुनु अत्यन्त चिन्ताजनक विषय हो ।’
न्याय विभागले उल्लेख गरेको एक घटनाअनुसार जुन २०२१ मा पीआरसीका एक अधिकारीले इन्क्रिप्टेड वीच्याट समूहमा वाङ र अन्य व्यक्तिहरूलाई पूर्वतयार समाचार सामग्री पठाएका थिए । तीमध्ये एउटा लेख लस एन्जल्स टाइम्समा प्रकाशित थियो, जसमा ‘शिनजियाङमा नरसंहार भएको छैन, कपास उत्पादनसहित कुनै पनि उत्पादन गतिविधिमा जबर्जस्ती श्रम छैन’ भन्ने चीनको धारणा प्रस्तुत गरिएको थियो ।
केही मिनेटमै वाङले उक्त सामग्री ‘यूएस न्युज सेन्टर’ वेबसाइटमा पोस्ट गरिन् र लिंक पीआरसी अधिकारीलाई पठाइन् । समूहका अन्य सदस्यहरूले पनि त्यस्तै गरे । त्यसपछि ती अधिकारीले ‘यति छिटो, सबैलाई धन्यवादझ् भन्दै प्रतिक्रिया दिएका थिए ।
न्याय विभागका अनुसार वाङले नोभेम्बर २०२१ मा चीनका राष्ट्रपति सी जिनपिङसम्म प्रत्यक्ष पहुँच भएका पीआरसी गुप्तचर समूहका उच्च सदस्य जोन चेनसँग पनि सम्पर्क गरेकी थिइन् । वाङले आफ्नो वेबसाइटको ‘समाचार’ लेख पोस्ट गर्न आग्रह गर्दै ‘यो विदेश मन्त्रालयले पठाउन चाहेको सामग्री हो’ भनेर लेखेकी थिइन् ।
क्यालिफोर्नियाको चिनो निवासी चेनले नोभेम्बर २०२४ मा चीनको अवैध एजेन्टको रूपमा काम गरेको तथा सार्वजनिक अधिकारीलाई घुस दिन षड्यन्त्र गरेको अभियोग स्वीकार गरेका थिए । उनलाई संघीय जेलमा २० महिनाको सजाय सुनाइएको थियो ।
सनलाई डिसेम्बर २०२४ मा पक्राउ गरिएको थियो । उनले पनि विदेशी राष्ट्रको अवैध एजेन्टको रूपमा काम गरेको अभियोग स्वीकार गरेका थिए । उनलाई फेब्रुअरीमा चार वर्षको संघीय जेल सजाय सुनाइएको थियो ।