नेपाल टेलिकमको तेस्रो त्रैमासिकमा ६ अर्ब २७ करोड नाफा

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको सञ्चालन आय र खुद मुनाफा दुवैमा वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय २.४२ प्रतिशतले बढेर रु. २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आय रु. २५ अर्ब ३१ करोड ७६ लाख रहेको थियो ।

त्यसैगरी, कम्पनीको कुल आय पनि १.४९ प्रतिशत अर्थात् रु. ४२ करोड ३३ लाखले वृद्धि भई रु. २८ अर्ब ८५ करोड ४८ लाख पुगेको छ ।

मुनाफातर्फ, तेस्रो त्रैमासिकसम्म खुद मुनाफा ९.८५ प्रतिशतले बढेर रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुनाफा रु. ५ अर्ब ७१ करोड ५ लाख रहेको  थियो ।

नाफा वृद्धिसँगै प्रति शेयर आम्दानी (EPS) रु. ४२.३ बाट बढेर रु. ४६.४७ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको खुद सम्पत्ति पनि रु. १४ अर्ब ३८ करोड २ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा १.३२ प्रतिशतले बढी हो ।

वित्तीय सूचक सुधार हुनुका प्रमुख कारणमा जीएसएम सेवातर्फको राजस्व वृद्धि र ह्रासकट्टी खर्चमा आएको गिरावटलाई लिइएको छ । विवरणअनुसार जीएसएम राजस्व २.७६ प्रतिशत (रु. ५७ करोड ७४ लाख) ले बढेको छ भने ह्रासकट्टी खर्च ८.४६ प्रतिशत (रु. ३८ करोड ६९ लाख) ले घटेको छ ।

यद्यपि, बजारमा घट्दो ब्याजदरका कारण कम्पनीको ब्याज आम्दानीमा भने २०.५७ प्रतिशत (करिब रु. ५७ करोड ६६ लाख) ले कमी आएको छ । 

Share News