काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यको विवरण उपलब्ध गराउन सहकारी संस्थाहरूलाई आग्रह गरेको छ ।
महानगरपालिकाले प्रचलित सहकारी ऐन तथा नियमावली अनुसार ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन विभागले एसएमएस तथा पत्राचारमार्फत सहजीकरण गरिरहेको जनाएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्राधिकारभित्र रहेका इच्छुक सहकारी संस्थाहरूले ऋण असुली सहजीकरणका लागि आवश्यक विवरण तथा कागजात विभागमा पेश गर्नुपर्नेछ ।
विभागले माग गरेका कागजातमा ऋण असुलीसम्बन्धी सञ्चालक समितिको निर्णयको प्रतिलिपि, ऋणी सदस्यको पूरा नाम, नागरिकताको प्रतिलिपि, ऋणको साँवा तथा ब्याज विवरण, तमसुकको प्रतिलिपि, सदस्यता नम्बर र मोबाइल नम्बर समावेश छन् ।
साथै, ऋणी सदस्यसम्बन्धी विवरण एक्सेल शिट (सफ्ट कपी) मा समेत उपलब्ध गराउन विभागले अनुरोध गरेको छ । महानगरपालिकाले सहकारी क्षेत्रमा बढ्दो ऋण असुली समस्या समाधान तथा बचतकर्ताको हित संरक्षणका लागि यस्तो पहल गरिएको जनाएको छ ।