एसईई उत्तीर्ण १०० विद्यार्थीलाई एनसेलले छात्रवृत्ति दिने

काठमाडौं । शिक्षा र युवा सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै एनसेल अन्तर्गतको एनसेल फाउन्डेसनले यस वर्ष पनि देशभरका एसईई उत्तीर्ण विद्यार्थीका लागि ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा गरेको छ । प्रोजेक्ट शिक्षा सँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत १०० जना विद्यार्थीले कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् ।

छात्रवृत्तिका लागि सातै प्रदेशमा लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत विद्यार्थी छनोट गरिनेछ । आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई प्राथमिकता दिइने यस योजनाले देशका दूरदराजका विद्यार्थीलाई समेत गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

छात्रवृत्तिसँगै छनोट भएका विद्यार्थीले १२ महिनासम्म निःशुल्क डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि प्राप्त गर्नेछन् । यसले उनीहरूलाई अध्ययन, सूचना र अवसरसँग निरन्तर जोडिरहन सहयोग पुग्ने विश्वास गरिएको छ ।

शिक्षा देशको भविष्य निर्माण गर्ने आधार भएको भन्दै एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा दिगोपन निर्देशक विशाखा लक्ष्मी खड्काले भौगोलिक अवस्था र आर्थिक कठिनाइका कारण कुनै पनि युवाको सपना अधुरो रहन नहुने बताइन् । 

उनका अनुसार पारदर्शी छनोट प्रक्रियामार्फत अवसरको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई उच्च शिक्षामा सहयोग पुर्याइनेछ ।

यसैबीच, हन्ड्रेड ग्रुप द्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । सन् २०१७ देखि सञ्चालनमा रहेको यो कार्यक्रमले नेपालभरका हजारौं विद्यार्थीलाई शैक्षिक अवसर प्रदान गर्दै आएको छ ।

गत वर्ष पनि यस कार्यक्रमअन्तर्गत ५० जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए । उनीहरू हाल विभिन्न शैक्षिक संस्थामा अध्ययनरत छन् ।

Share News