काठमाडौं । एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १०० जना जेहेन्दार विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । 'प्रोजेक्ट शिक्षा'सँगको सहकार्यमा फाउन्डेसनले कक्षा ११ र १२ अध्ययनका लागि यो छात्रवृत्ति दिन लागेको हो ।
यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान गरिनेछ । यस पहलले देशका हरेक कुनाका विद्यार्थीहरूलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिनेछ ।
यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पुर्याउनेछ ।
'एनसेल फाउन्डेसनमा हामी शिक्षा देशको भविष्य निर्माण गर्ने एक आधारभूत स्तम्भ हो भन्नेमा विश्वास राख्छौँ । प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत हामी एसईई उत्तीर्ण युवा विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न चाहन्छौँ । भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाहरूको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो । यस पहलमार्फत हामी सुदृढ र समावेशी भविष्य निर्माणमा योगदान पुर्याइरहेका छौँ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।
हन्ड्रेड ग्रुपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रम प्रोजेक्ट शिक्षाले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१७ देखि सञ्चालनमा रहेको छ र नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ ।