काठमाडौं । चीनले अमेरिकाबाट २ सयवटा विमान किन्ने भएको छ । चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट २०० वटा विमान खरिद गर्न लागेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच गत हप्ता बेइजिङमा भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान खरिद गर्न लागेको हो ।
चीनको वाणिज्य मन्त्रालयले बुधबार यस सम्झौताअन्तर्गत अमेरिकाले विमानको इन्जिनका पार्टपुर्जा र अन्य आवश्यक सामग्री (कम्पोनेन्ट्स) को आपूर्तिको ग्यारेन्टी दिने जनाएको छ ।
दुवै देशले गत वर्ष अक्टोबरमा जुन ‘ट्यारिफ वार’ रोक्न सहमति जनाएका थिए, त्यसलाई अझ अगाडि बढाउने दिशामा काम गर्न पनि सहमति व्यक्त गरेका छन् ।
साथै दुवै पक्षले कम्तीमा ३० अर्ब डलर बराबरका सामानमा भन्सार महसुल (ट्यारिफ) कटौती गर्ने प्रयास गर्नेछन्।
यो घोषणा यस्तो समयमा भएको हो, जब सी जिनपिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग बेइजिङमा कुराकानी गरिरहेका छन् । यो बैठक ट्रम्पको चीन भ्रमणको केही दिनपछि मात्र भएको हो ।
ट्रम्पले गत शुक्रबार चीनबाट प्रस्थान गरेपछि एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए, ‘हामीले धेरै उत्कृष्ट व्यापारिक सम्झौताहरू गरेका छौं, जसमा बोइङका २०० भन्दा बढी विमानहरूको सम्झौता पनि समावेश छ । साथै ७५० वटा विमानसम्म खरिद गर्ने प्रतिबद्धता जनाइएको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो अर्डर हुन सक्छ ।’