डाबर नेपालको मह गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न आदेश

काठमाडौं । डाबर नेपाल प्रालिलाई बजारमा बिक्री वितरण गर्न राखिएका मह फिर्ता लिन आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालद्वारा उत्पादित मह बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको हो ।

विभागले वैशाख ५ गते जारी गरेको आदेशअनुसार बजार अनुगमनका क्रममा संकलित नमुना प्रयोगशालामा परीक्षण गर्दा सो ब्याचको मह न्यूनस्तरको पाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही अघि बढाइएको हो ।

आदेशमा उल्लेख भएअनुसार ब्याच नम्बर एनबी००४७७ रहेको ५०० ग्राम डाबर हनीमा गुणस्तर मापदण्ड पूरा नभएको पाइएको छ । उक्त उत्पादन डाबर नेपालको जितपुर सिमरा बाराबाट उत्पादन गरिएको हो ।

विभागले सो ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न, बिक्री वितरण रोक्न तथा उपभोक्तासमक्ष नपुग्ने व्यवस्था गर्न सम्बन्धित उत्पादक तथा वितरकलाई निर्देशन दिएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ अनुसार उपभोक्ता स्वास्थ्यमा जोखिम हुन सक्ने खाद्य पदार्थ बजारबाट हटाउने अधिकार प्रयोग गर्दै यो निर्णय गरिएको विभागले जनाएको छ ।

Share News