कांग्रेसले गठन गर्यो निर्वाचन ब्यूरो, चुनावी तयारीदेखि तथ्याङ्क संकलनको काम गर्ने

संयोजक बनिन् पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र स्थायी प्रकृतिको नयाँ संरचना निर्वाचन ब्यूरो गठन गरेको छ । यसअघि चुनावका बेला मात्रै निर्वाचन परिचालन समिति बनाउने अभ्यास गर्दै आएको कांग्रेसले अब निरन्तर रूपमा चुनावी तयारी, तथ्याङ्क संकलन र रणनीति निर्माणका लागि स्थायी ब्यूरो बनाएको हो ।

पार्टीले आगामी निर्वाचनहरुमा अगाडि सार्नसक्ने क्याडर निर्माण गर्ने, निर्वाचन लक्षित सुचनाहरु संकलन गर्ने उद्देश्यले ब्यूरो गठन गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा स्थायी प्रकृतिको निर्वाचन ब्यूरो गठन गरिएको चालिसेले जानकारी दिए । सभापति गगन कुमार थापाले १७ जना नेतालाई सदस्य मनोनित गर्दै काम अगाडि बढाउन निर्देशन दिएको चालिसेले बताए ।

प्रवक्ता चालिसेका अनुसार ब्यूरोलाई स्पष्ट कार्यादेश टिओआरसहित जिम्मेवारी दिइएको छ । ब्यूरोमा निवर्तमान सहमहामन्त्री जीवन परियारसहित अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, भूमिराज चापागाईं, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज बिनोद पौडेल, जग्गनाथ लामिछाने र मिलनराज बर्तौला सदस्य रहेका छन् ।

चालिसेका अनुसार निर्वाचन ब्यूरोले देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने, चुनावी तयारीलाई तथ्याङ्कमा आधारित र वैज्ञानिक बनाउने तथा ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा र सातै प्रदेशको विस्तृत निर्वाचन योजना तयार गर्नेछ ।

त्यस्तै, मतदाता र स्थानीय वस्तुस्थितिको विश्लेषण गर्दै उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक र तथ्यपरक बनाइने चालिसेले बताए । ब्यूरोले स्पष्ट र प्रभावकारी चुनावी रणनीति निर्माण गर्नुका साथै पार्टीको परम्परागत चुनावी अभियानलाई आधुनिक राजनीतिक अभियान संरचनामा रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।

कांग्रेसले निर्वाचन ब्यूरोअन्तर्गत सात सदस्यीय प्राविधिक समिति पनि रहने जनाएको छ । ब्यूरो मातहत विभिन्न कार्यसमूह र इकाइ गठन गरिनेछ भने प्रदेशस्तरमा संयोजक खटाइनेछ । उनीहरूले सूचना संकलन र व्यवस्थापनको काम गर्ने पनि प्रवक्ता चालिसेले जानकारी दिए ।

प्रदेश संयोजकअन्तर्गत जिल्ला र स्थानीय तहमा सूचनादाता रहने व्यवस्था गरिएको छ । उनीहरूले नियमित रूपमा स्थानीय तहका राजनीतिक गतिविधि, जनमत, प्राथमिकता र असन्तुष्टिबारे जानकारी उपलब्ध गराउने कांग्रेसको भनाइ छ ।

ब्यूरोको कार्यविवरणमा पछिल्ला र अघिल्ला निर्वाचनको तुलनात्मक अध्ययन, मत परिवर्तनको विश्लेषण, मतदान सहभागिता र मतदाता मनोविज्ञान अध्ययन गर्ने चालिसेले बताए । चालिसेका अनुसार ब्यूरोलाई देशव्यापी सर्वेक्षण सञ्चालन गरी मतदाताको भावना, विश्वासको स्तर र प्राथमिकता मापन गर्ने तथा त्यसका आधारमा नीति र घोषणापत्र सुधारका सुझाव दिने जिम्मेवारी पनि तोकिएको छ ।

त्यसैगरी प्रत्येक वडा, गाउँपालिका, नगरपालिका र प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन रणनीति तयार गरिने जनाइएको छ । स्थानीय तहका मुद्दा, जनभावना र राजनीतिक प्रवृत्तिको निरन्तर अध्ययन गरी ब्युरोलाई प्रतिवेदन बुझाइनेछ ।

कांग्रेसले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत जनमतको प्रवृत्ति विश्लेषण गर्ने, विशेष क्षेत्र वा विषयमा देखिने असन्तुष्टि तथा राजनीतिक परिवर्तन प्रारम्भिक चरणमै पहिचान गर्ने र नियमित रूपमा विश्लेषणात्मक प्रतिवेदन तयार पार्ने योजना पनि अघि सारेको छ ।

उनका अनुसार यस संरचनाले देशव्यापी निर्वाचन डाटाबेस निर्माण र वैज्ञानिक तरिकाले उम्मेदवार छनोट प्रणाली विकास गर्नेछ । उनका अनुसार मतदाता भावना आधारित घोषणापत्र निर्माणदेखि प्रभावकारी चुनावी रणनीति तय गर्ने काम पनि ब्यूरोले गर्नेछ । कांग्रेसले यसबाट पार्टीको निर्वाचन प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।

Share News