भारतमा तहल्का पिट्दै ककरोच पार्टी, कसरी जन्मियो ?

४ दिनमै सवा एक करोड फलोअर

काठमाडौं । छिमेकी मुलुक भारतको राजनीतिमा अनेकौं उतारचढाव, र्याली र नयाँ पार्टीहरूको उदय हुनु कुनै नौलो कुरा होइन । तर, हालैका दिनमा भारतीय सामाजिक सञ्जालको भित्तामा ‘ककरोच जनता पार्टी’ ले निकै तहल्का मच्चाइरहेको छ ।

ककरोच जनता पार्टीको नाम सुन्दा धेरैलाई हासो लाग्न सक्छ, यसले अचम्ममा पनि पार्न सक्छ ।

भान्साको कुनामा लुकेर बस्ने साङ्ग्लो (ककरोच) को नाममा राजनीतिक पार्टी ? सुन्दा ठट्टा वा कुनै ‘मिम’ जस्तो लाग्ने यो नाम यतिबेला भारतका युवाहरूमाझ निकै चर्चाको विषय बनेको छ । यो पार्टी किन चर्चामा आयो ? यसका फलोअर्स किन र कसरी बढिरहेका छन् ? यसको पछाडि कसको दिमाग छ र यसले सामाजिक सञ्जालको शक्तिलाई कसरी उजागर गरिरहेको छ ? यिनै विषयमा आधारित भई हामीले खोतल्ने प्रयास गरेका छौं ।

ककरोच जनता पार्टी कुनै परम्परागत निर्वाचन आयोगमा दर्ता भएको र चुनाव लड्न तम्सिएको राजनीतिक दल होइन, यो त डिजिटल युगको एउटा यस्तो सटायरिकल अझ भनौं व्यङ्ग्यात्मक आन्दोलन हो, जसले भारतको वर्तमान राजनीतिक अवस्था, दलहरूको खोक्रा आश्वासन र मिडिया सर्कसलाई कडा व्यङ्ग्य गरिरहेको छ ।

भारतका प्रधानन्यायाधीश सूर्यकान्तले भारतका केही बेरोजगार युवाहरूको हर्कतमाथि  ककरोच भन्दै गरेको टिप्पणी गरेका थिए । सोही टिप्पणीलाई दीपकले सिरियस्ली लिएका हुन्।

यसको नाम ‘ककरोच’ राख्नुको पछाडि एउटा गज्जबको दर्शन लुकेको छ । ककरोच एउटा यस्तो जीव हो, जो जस्तोसुकै कठिन परिस्थिति, आणविक विस्फोट वा महाविपत्तिमा पनि जीवित रहन सक्छ । 

यो पार्टीका अनुसार भारतीय जनता पनि ककरोच जस्तै हुन् । महँगी, बेरोजगारी, भ्रष्टाचार र नेताहरूको झूटो आश्वासनको मार खेपेर पनि जसोतसो बाँचिरहेका छन् ।

यही तीतो यथार्थ र व्यङ्ग्यको सम्मिश्रणका कारण यो पार्टी सामाजिक सञ्जालमा रातारात भाइरल भएको हो ।

सामाजिक सञ्जालको तागत र ह्वात्तै बढेका फलोअर्स

कुनै समय राजनीति गर्नका लागि ठूला(ठूला आमसभा, करोडौंको विज्ञापन र कार्यकर्ताको ठूलो फौज चाहिन्थ्यो । तर ककरोच जनता पार्टीले प्रमाणित गरिदिएको छ कि आजको युगमा ‘कन्टेन्ट’ र ‘कनेक्सन’ नै सबैभन्दा ठूलो शक्ति हो ।

इन्स्टाग्राम, एक्स (ट्विटर) र युट्युबमा यो पार्टीका रिलहरू र पोस्टहरू डढेलो झैं फैलिरहेका छन् । छोटो समयमै यसका फलोअर्स लाखौं पुगिसकेका छन् र प्रत्येक भिडियोमा मिलियन बढी भ्युज आउने गरेको छ ।

इन्टाग्राममा ककरोच जनता पार्टीका ११.४ मिलियन फलोवर्स छन् भने भारतीय जनता पार्टीका ८.७ मिलियन, आम आदमीको १.९ र कंग्रेसको १३.३ मिलियन रहेका छन् ।

यसका फलोअर्सहरूमा अधिकांश १८ देखि ३५ वर्षका युवाहरू छन्, जो परम्परागत राजनीतिबाट दिक्क भइसकेका छन् ।

यस पार्टीले गर्ने ‘डिजिटल र्याली’, जारी गर्ने ‘घोषणापत्र’ र बनाउने ‘मिम्स’ यति सान्दर्भिक र हाँस्यास्पद हुन्छन् कि मानिसहरू नचाहँदा नचाहँदै पनि यसको फलोअर्स बन्न पुग्छन् ।

यसको पछाडि कसको हात छ ? 

अनौठो र नवप्रवर्तनकारी अवधारणाको पछाडि भारतका प्रख्यात डिजिटल कन्टेन्ट क्रिएटर तथा कमेडियन अभिजीत दीपकेको दिमाग छ । उनी नै यस ककरोच जनता पार्टीका स्वघोषित ‘राष्ट्रिय अध्यक्ष’ वा मुख्य अनुहार हुन् ।

अभिजीत दीपके भारतको डिजिटल मिडिया र राजनीतिक सटायर (व्यङ्ग्य) को दुनियाँमा नयाँ नाम होइनन । उनी एक शिक्षित, सचेत र राजनीतिक मामिलालाई नजिकबाट बुझ्ने युवा हुन् । 

सामाजिक सञ्जालमा सक्रिय हुनुअघि उनी पत्रकारिता, मिडिया विश्लेषण र डिजिटल मार्केटिङसँग जोडिएका थिए । उनी लामो समयदेखि विभिन्न सामाजिक–राजनीतिक मुद्दाहरूमा आफ्ना तिखा टिप्पणीहरूका लागि चिनिन्थे । उनले समाजका विसंगतिहरूलाई सिधा गाली गर्नुभन्दा हास्य र व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्दा जनताले बढी रुचाउने तथ्यलाई बुझे र ककरोच जनता पार्टीको स्थापना गरे ।

अभिजीत दीपकेको उद्देश्य कुनै वास्तविक चुनाव जितेर सत्तामा पुग्नु होइन । युवामा राजनीतिक चेतना जगाउनु, सिस्टमको ऐना देखाउनु, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु उनको उद्देश्य हो ।

उनको दर्शन छ- ‘जब प्रणाली आफैमा एउटा ठट्टा बन्न पुग्छ, तब त्यसलाई सुधार्नका लागि ठट्टै ठट्टामा गम्भीर प्रश्नहरू सोध्नुपर्ने हुन्छ ।’

दीपकेले ककरोच जनता पार्टी नामको एक वेबसाइट पनि बनाएका छन् । जसमा मानिसहरू जोडिने क्रम जारी नै छ ।

सामाजिक सञ्जालको तागत

ककरोच जनता पार्टीको यो लहरले आधुनिक लोकतन्त्रमा सामाजिक सञ्जालको तागत देखाउँछ । आजको डिजिटल युगमा सामाजिक सञ्जाल वैकल्पिक मिडिया र विचार निर्माणको सबैभन्दा ठूलो हतियार बनेको छ ।

राजनीतिक दलहरूलाई एउटा सानो सन्देश फैलाउन लाखौं रुपैयाँ खर्च गर्नुपर्छ तर अभिजीत दीपकेले एउटा कोठामा बसेर बनाएको रिलले करोडौं जनताको मन छोइरहेको छ । यो सबै सामाजिक सञ्जालकै देन हो, कमाल हो । 

सामाजिक सञ्जालको एल्गोरिदमले जनताले के मन पराउँछन् भन्ने कुरा ट्र्याक गर्छ । ककरोच जनता पार्टीको कन्टेन्टमा जनताको वास्तविक पीडा र हाँसो मिसिएको हुनाले यसलाई सामाजिक सञ्जालका प्लेटफर्महरूले आफै प्रवर्द्धन गरिरहेका हुन् ।

Share News