एलन मस्कको स्पेसएक्सले ल्याउँदै विश्वकै ठूलो आइपीओ

काठमाडौं । एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि यसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ ।     

फाइलिङले देखाएअनुसार स्पेसएक्सले गत वर्ष आठ अर्ब ७० करोड डलर राजस्व कमाए पनि सञ्चालनतर्फ पाँच अर्ब ६० करोड डलर घाटा व्यहोरेको थियो । कम्पनीले यो वर्षको सुरुआती महिनाहरूमा पनि घाटा निरन्तर रहेको उल्लेख गरेको छ ।     

कम्पनीले उठाउन चाहेको रकम औपचारिक रूपमा नखुलाए पनि विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूले प्रस्तावको आकार ७५ अर्ब डलर वा त्योभन्दा माथि पुग्न सक्ने बताएका छन् । यदि त्यस्तो भयो भने, 'यो आइपिओले सात वर्षअघि २६ अर्ब डलर उठाएर कीर्तिमान बनाएको साउदी अरामकोलाई सहजै उछिन्नेछ ।'     

औपचारिक नाम स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसन रहेको स्पेसएक्सले यस सेयर बिक्रीबाट उठ्ने रकम मानवलाई बहुग्रहीय प्रजाति बनाउने महत्त्वाकांक्षी योजनामा प्रयोग गरिने जनाएको छ । कम्पनीका अनुसार चन्द्रमा र मङ्गल ग्रहमा मानव बस्ती स्थापना गर्ने परियोजनालाई आर्थिक रूपमा बलियो बनाउन यो पूँजी प्रयोग हुनेछ । फाइलिङमा सभ्यतालाई समाप्त गर्न सक्ने अस्तित्वगत जोखिमको चर्चा गर्दै ‘मानव जातिको भाग्य डायनासोरजस्तो नहोस् भन्ने हाम्रो चाहना हो’ भनिएको छ ।     

प्रोस्पेक्टसका केही अंश विज्ञान–कथाजस्ता देखिन्छन् । एउटा खण्डमा मस्कले ‘कम्तीमा १० लाख जनसङ्ख्या भएको स्थायी मानव उपनिवेश मङ्गल ग्रहमा स्थापना गर्न सफल भएमा’ मात्र विशेष क्षतिपूर्ति प्राप्त गर्ने उल्लेख गरिएको छ ।     

यो आइपीओले मस्कलाई १० खर्ब डलरभन्दा बढी सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति बनाउने सम्भावना पनि बलियो बनाएको छ । फोब्र्सका अनुसार हाल मस्कको अनुमानित सम्पत्ति आठ खर्ब ३९ अर्ब डलर रहेको छ । मस्कले सन् २००२ मा स्थापना गरेको स्पेसएक्समा उनी प्रमुख स्वामित्वकर्ता रहेका छन् ।     

पुनः प्रयोग गर्न मिल्ने रकेटमार्फत अन्तरिक्ष यात्रीलाई कक्षामा पुर्याउने मुख्य व्यवसायसँगै स्पेसएक्सले अन्य विविध व्यवसाय पनि सञ्चालन गरिरहेको छ । तीमध्ये सबैभन्दा सफल व्यवसायमध्ये स्टारलिङ्क एक हो ।     

दस्तावेजअनुसार स्टारलिङ्कले गत वर्ष चार अर्ब ४० करोड डलर सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले न्यून पृथ्वी कक्षामा रहेका करिब १० हजार उपग्रहमार्फत १५० देश तथा क्षेत्रमा एक करोड मानिसलाई इन्टरनेट सेवा दिइरहेको जनाएको छ ।     

तर कम्पनीका सबै परियोजना सफल छैनन् । हालै स्पेसएक्सले मस्ककै स्वामित्वमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म एक्स र कृत्रिम बौद्धिकता (एआई) एक्सएआई अधिग्रहण गरेको थियो । यी दुवै कम्पनी ठूलो घाटामा रहेका कारण केही लगानीकर्ताले उक्त खरिदलाई ‘बेलआउट’ भन्दै आलोचना गरेका थिए । प्रोस्पेक्टसले एआई व्यवसायले मात्र गत वर्ष छ अर्ब ४० करोड अर्ब डलर सञ्चालन घाटा व्यहोरेको जनाएको छ ।     

स्पेसएक्सको मुख्य रकेट तथा प्रक्षेपण व्यवसाय भने अमेरिकी सरकारी सम्झौतामा ठूलो मात्रामा निर्भर छ । दस्तावेजअनुसार कम्पनीको गत वर्षको कुल राजस्वमध्ये करिब पाँचौँ भाग अमेरिकी सङ्घीय सरकारबाट आएको थियो । नासा, अमेरिकी रक्षा मन्त्रालय र अन्य सरकारी निकायबाट स्पेसएक्सले पछिल्ला पाँच वर्षमा छ अर्ब डलरभन्दा बढीका सम्झौता प्राप्त गरेको युएसए स्पेन्डिङ डट जीओभीले देखाएको छ ।     

यसले मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धमाथि फेरि प्रश्न उठाएको छ । मस्क ट्रम्पको चुनाव अभियानका सबैभन्दा ठूलो दातामध्ये एक थिए र सरकारी खर्च कटौती अभियान डजसँग पनि उनी जोडिएका थिए ।     

सरकारी नैतिकता निगरानी समूहहरूले मस्कले सरकारी ठेक्का पाउन विशेष सुविधा पाएको हो कि भन्ने प्रश्न उठाउँदै आएका छन् । ट्रम्प प्रशासन समाप्त भएपछि यस्तो लाभ कायम रहन्छ कि रहँदैन भन्नेबारे पनि बहस भइरहेको छ ।     

प्रोस्पेक्टसले मस्कको पारिश्रमिक संरचना पनि खुलाएको छ । सन् २०२५ मा उनको आधारभूत वार्षिक तलब ५४ हजार ८० डलर मात्रै थियो । यो सन् २०१९ यता परिवर्तन भएको छैन । तर उनका मुख्य लाभ स्टक अनुदानसँग जोडिएका छन् । कम्पनीले करिब समान आकारका १५ वटा स्टक अनुदान प्याकेज उपलब्ध गराउने योजना बनाएको छ । यसमा प्रत्येकमा छ करोड ७० लाख सेयर रहनेछन् । ती सेयर कम्पनीले तोकेका बजार मूल्य लक्ष्य पूरा गरेपछि मात्रै हस्तान्तरण हुनेछन् ।     

मस्कले पूर्ण स्टक पुरस्कार प्राप्त गर्न स्पेसएक्सको बजार मूल्य ७५ खर्ब डलरसम्म पुग्नुपर्ने उल्लेख गरिएको छ । यस्तै अन्तरिक्षमा फुटबल मैदानजत्रा विशाल डाटा सेन्टर निर्माण गर्न कम्पनी सफल भएमा उनले थप स्टक पुरस्कार प्राप्त गर्ने व्यवस्था पनि राखिएको छ ।     

कम्पनीको नियन्त्रण संरचनाले पनि लगानीकर्ताको ध्यान खिचेको छ । फाइलिङअनुसार मस्क र केही प्रमुख सेयरधनीले विशेष श्रेणीका सेयर पाउनेछन्, जसले प्रत्येक सेयरमा १० मताधिकार दिनेछ । यसमार्फत उनीहरूले कम्पनीको सञ्चालक समिति चयनमा निर्णायक प्रभाव राख्नेछन् ।     

स्पेसएक्सले सम्भावित लगानीकर्तालाई चेतावनी दिँदै ‘यसले कर्पोरेट मामिलाहरू तथा सञ्चालकहरूको निर्वाचनमा तपाईंहरूको प्रभाव सीमित वा रोक्न सक्छ’ भनेको छ ।     

वाल स्ट्रिटको प्रचलित भाषामा ‘रोड शो’ भनिने लगानीकर्ता प्रस्तुति कार्यक्रम स्पेसएक्सले प्रोस्पेक्टस सार्वजनिक गरेको १५ दिनपछि सुरु गर्न सक्नेछ । हालको समयरेखाअनुसार त्यो प्रक्रिया जुन ४ देखि सुरु हुने अपेक्षा गरिएको छ । रासस

Share News