नासा सेक्युरिटिजले सार्वजनिक गर्‍यो ‘अपग्रेडेड नासा एक्स सेल्फ सर्भिस एप’

काठमाडौं । नासा सेक्युरिटिजले डिजिटल ट्रेडिङ प्लेटफर्मलाई थप परिष्कृत गर्दै ‘नासा एक्स सेल्फ सर्भिस एप’ सार्वजनिक गरेको छ ।

आधुनिक लगानीकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै एपलाई अझ स्मार्ट, छिटो र सुरक्षित बनाइएको कम्पनीले जनाएको छ । डिजिटल रूपान्तरण र लगानीकर्ताको सशक्तीकरणलाई प्राथमिकता दिँदै अपग्रेड गरिएको एपमा नयाँ युजर इन्टरफेस (यूआई), बायोमेट्रिक लगइन, आफ्टर मार्केट अर्डर (एएमओ), टिकट जेनेरेसन, हिटम्याप्स र मोबाइल चार्टिङजस्ता सुविधा थपिएका छन् ।

कम्पनीका अनुसार नयाँ यूआईमार्फत एपलाई अझ आधुनिक र प्रयोगकर्ता–मैत्री बनाइएको छ । यसले एप चलाउने अनुभवलाई सहज र छिटो बनाउनुका साथै कम चरणमै आवश्यक सेवा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

सुरक्षालाई थप मजबुत बनाउन एपमा बायोमेट्रिक अथेन्टिकेसन सुविधा समावेश गरिएको छ । अब प्रयोगकर्ताले औँठाछाप वा अनुहारमार्फत सिधै लगइन गर्न सक्नेछन् । यसले पटक–पटक पासवर्ड प्रयोग गर्नुपर्ने झन्झट हटाउनुका साथै खाताको सुरक्षा पनि बढाउने कम्पनीको दाबी छ ।

एपको मुख्य आकर्षणका रूपमा रहेको ‘आफ्टर मार्केट अर्डर’ सुविधामार्फत लगानीकर्ताले बजार बन्द भएको समयमा पनि शेयर खरिद वा बिक्रीको अर्डर राख्न सक्नेछन् । कम्पनीले यो सुविधा विशेष गरी व्यस्त लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उपयोगी हुने जनाएको छ ।

ग्राहक सेवालाई प्रभावकारी बनाउन एपमै टिकट जेनेरेसन प्रणालीसमेत राखिएको छ । प्रयोगकर्ताले खाता, कारोबार वा प्राविधिक समस्यासम्बन्धी गुनासा सिधै एपबाट दर्ता गर्न सक्नेछन् । यसबाट समस्या समाधानको अवस्थाबारे जानकारी लिन पनि सहज हुने कम्पनीको भनाइ छ ।

त्यसैगरी, बजारको समग्र अवस्था बुझ्न ‘हिटम्याप्स’ सुविधा थपिएको छ । यसले कुन क्षेत्रका शेयर मूल्य बढिरहेका छन् वा घटिरहेका छन् भन्ने जानकारी रङको माध्यमबाट देखाउनेछ । कम्पनीका अनुसार यसले प्राविधिक ज्ञान कम भएका लगानीकर्तालाई समेत बजारको प्रवृत्ति बुझ्न सहयोग पुर्याउनेछ ।

गहिरो विश्लेषण गर्न चाहने लगानीकर्ताका लागि एपमै अत्याधुनिक मोबाइल चार्टिङ टुल्स उपलब्ध गराइएको छ । अब कम्प्युटरबिना नै मोबाइलबाट शेयर मूल्यको उतारचढाव तथा विभिन्न सूचकको प्राविधिक विश्लेषण गर्न सकिने कम्पनीले जनाएको छ ।

Share News