कृषि विकास बैंकद्वारा मण्डन देउपुरमा २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण

काठमाडौं । कृषि विकास बैंकले विभिन्न सामाजिक कार्यहरू सञ्चालन गरेको छ । सोही क्रममा जेठ ७ गते बिहीबार मण्डन देउपुर नगरपालिका–८ स्थित डेडी थुम्का माध्यमिक विद्यालयका २३२ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ ।

उक्त विद्यालयमा स्थानीय दनुवार समुदायसहित गरिब तथा सिमान्तकृत वर्गका बालबालिका अध्ययनरत छन् । स्रोत अभावका बीच अध्ययन गरिरहेका विद्यार्थीलाई प्रदान गरिएको यस सहयोगले उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको विद्यालयले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमै आयोजना गरिएको थियो । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइवाको प्रमुख आतिथ्यता रहेको थियो । उनले नगरपालिकाको मुख्य आयस्रोत कृषि रहेको उल्लेख गर्दै कृषि विकास बैंकसँगको सहकार्यले स्थानीय विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, कृषक तथा कृषि क्षेत्रमा सहकार्य विस्तार गर्न बैंकलाई आग्रह गरे ।

कार्यक्रममा बैंकका सञ्चालक विनोद कुमार गुरागाईंले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै विद्यालयसँग दीर्घकालीन सहकार्यमार्फत गरिब विद्यार्थीको क्षमता अभिवृद्धिमा काम गर्न इच्छुक रहेको उल्लेख गरे ।

बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले विद्यार्थीहरूको उत्साह र आवश्यकतालाई ध्यानमा राख्दै सही स्थान छनोट गरिएकोमा खुशी व्यक्त गरे । सहयोग कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति उनले धन्यवाद पनि व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सापकोटाले विभिन्न स्रोत जुटाएर विद्यालय विकासमा काम गर्न पाउँदा खुशी लागेको बताए ।

कार्यक्रममा नगरपालिकाका उपमेयर विष्णु मणि नेपाल, कृषि विकास बैंकका मार्केटिङ तथा सेल्स विभाग प्रमुख वीणा शर्मा, बागमती प्रदेश कार्यालयका निर्देशक चन्द्र सिंह थापा, पाँचखाल शाखा प्रमुख विनोद कोइराला लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Share News