काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन भएर पनि नतिजा आएसँगै नयाँ कार्यसमितिले पूर्णता पाएको छ ।
शुक्रबार भएको निर्वाचनमा सुरकृष्ण वैद्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भने कोषाध्यक्षमा मनिषलाल प्रधान विजयी भए । वैद्यले ५६ मत ल्याएर वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रामचन्द्र संघाईले ३० मत ल्याए ।
त्यस्तै, कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । उनले ६१ मत ल्याए भने उनका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरे ।

योसँगै महासंघको कार्यसमितिले पूर्णता पाएको हो । महासंघमा ८ जना पदाधिकारी हुने व्यवस्था छ । जसमा अध्यक्ष अञ्जन श्रेष्ठसँगै निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे, वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ तथा कृष्णप्रसाद शर्मा र कोषाध्यक्ष मनिषलाल प्रधान बनेका हुन् ।
गत बैशाख २२ गते महासंघको नयाँ कार्यसमितिको निर्वाचन भएको थियो । सो निर्वाचनमार्फत अञ्जन वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका थिए । अध्यक्ष श्रेष्ठले चाहेजस्तै टिम बनेको छ । यसमा अञ्जनलाई सफलता मिलेको हो ।
एसोसिएट उपाध्यक्षमा पाण्डेले १ हजार ७९ मत ल्याउँदै विजयी भएका थिए । उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याएकी थिइन् । पाण्डे लोमस फर्मास्युटिकल्स र कसमस सिमेन्टका सञ्चालक हुन् । उनी सिटिजन्स बैंकको अध्यक्षको रुपमा पनि कार्यरत छन् ।
प्रवलजंग पाण्डे ।
एसोसिएट तर्फ १७ सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा सचिन ढकालले सर्वाधिक १३१८ मत प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेका छन् । यसैगरी, हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिकाप्रसाद पौडेलले १ हजार १८३ मत, उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत, शक्ति कुमार वेगानीले १ हजार १४२ मत, ऋषि अग्रवालले १ हजार १२२ मत र सुशील थापाले १ हजार ९४ मत प्राप्त गरी विजयी भएका थिए ।
त्यस्तै, राजेश कुमार अग्रवालले १ हजार ८२ मत, सुयस प्याकुरेलले १ हजार ६९ मत, रामशरण भण्डारीले १ हजार ४३ मत, बाबु काजी कार्कीले १ हजार ६ मत, दिवश न्यौपानेले ९९१ मत, कृष्णलाल महर्जनले ९७४ मत, प्रियराज रेग्मीले ९५४ मत, इश्वरबहादुर जीसीले ९४९ मत, सुरज उप्रेतीले ९०७ मत र बटु लामिछानेले ८६० मत प्राप्त गर्दै विजयी भएका थिए ।
यस्तै, महासंघको वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका थिए । घिमिरेले ६० मत प्राप्त गरेका थिए ।
नरेशलाल श्रेष्ठ ।
वस्तुगततर्फको सदस्यमा अरनिको राजभण्डारीले सर्वाधिक ७० मत प्राप्त गरी विजयी भएका थिए । यस्तै, विदुर धमलाले ६८ मत, सागर ढकालले ६८ मत, रवीन पुरीले ६६ मत, राजकुमार कार्कीले ६३ मत, पशुपतिदेव पाण्डेले ६२ मत, लिलेन्द्र प्रधानले ६२ मत, भक्तबहादुर हमालले ५६ मत, नानिराज घिमिरेले ५२ मत, संघर्ष बिष्टले ५१ मत र होमप्रसाद घिमिरेले ५१ मत प्राप्त गरी निर्वाचित भएका थिए । महिला सदस्यतर्फ सुनिता नेहाफुकीले ५४ मतसहित विजय हासिल गरेकी थिइन् । त्यस्तै, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त गर्दै कार्यकाल बाँडेका थिए ।
यस्तै, महासंघको जिल्लानगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका थिए । शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गर्दै विजयी भएका थिए । जिल्ला-नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे पनि उम्मेदवार थिए । डालमियाले ५० र गैरेले ३० मत मात्रै ल्याएका थिए ।
कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ ।
जिल्ला-नगर खुल्लातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन् । यस्तै, गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएका थिए ।