काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँचवटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिको शुक्रबार (आज) जेठ २२ गतेको निर्णयअनुसार लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी, दर्शन बचत तथा ऋण सहकारी र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो ।
समितिले उपलब्ध ऋणी विवरणका आधारमा यो नामावली सार्वजनिक गरिएको जनाउँदै साविकमै ऋण चुक्ता गरिसकेका तर प्राविधिक कारणवश नाम परेका व्यक्तिहरूलाई प्रमाणसहित समितिमा उपस्थित हुन आग्रह गरेको छ ।
साथै ऋण बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ भने तोकिएको समयमा दायित्व पूरा नगरे प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।