नयाँ दिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनाल र एस जयशंकरबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र विदेशमन्त्री जयशंकरबीच भएको भेटसँगै नेपाल-भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि जारी रहेको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै भेटवार्ताको प्रारम्भिक झलक सार्वजनिक गरेका छन् । उनले नेपालसँगको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै देश प्रतिबद्ध रहेको संकेत गरेका छन् ।

परराष्ट्रमन्त्री खनाल भारतीय विदेशमन्त्री जयशंकरको औपचारिक निमन्त्रणामा शुक्रबार भारत पुगेका हुन् । उनको भ्रमण २४ जेठसम्म जारी रहनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।

विशेषगरी द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवद्र्धन, सीमा तथा पूर्वाधार कनेक्टिभिटी, ऊर्जा सहकार्य र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषय प्राथमिकतामा रहेका छन् ।

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको यस भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।

पछिल्ला वर्षहरूमा ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, रेल तथा सडक सञ्जाल विस्तारजस्ता क्षेत्रमा बढेको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच सकारात्मक संवाद हुने विश्वास गरिएको छ ।

Share News