७० देश सम्मिलित अन्तर्राष्ट्रिय आईटी प्रतियोगितामा नेपाली विद्यार्थीले जिते पुरस्कार

काठमाडौं । विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन् ।

इन्डोनेसियाको राजधानी जाकार्तामा जेठ २ र ३ गते सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने ६ विद्यार्थी टोली पुरस्कार जित्न र तीन टोली ३० उत्कृष्ट भित्र पर्न सफल भएका हुन् । संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापनजस्ता विषयमा नवीनतम् अवधारणा पेस गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन् ।

सूचना प्रविधिको क्षेत्रमा क्रियाशील नीमा एजुकेसन फाउन्डेसनले यस वर्ष पनि विभिन्न विद्यालयहरूसँग समन्वय गरी ८ वर्षदेखि १८ वर्षसम्मका ९८ विद्यार्थीलाई सो प्रतियोगितामा समावेश गराएको थियो । यसै सन्दर्भमा नीमा एजुकेसन फाउन्डेसनले जाकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढाउने विद्यालय तथा विद्यार्थीलाई आइतबार सम्मान तथा पुरस्कृत गरेको छ ।

सो अवसरमा काठमाडौं विश्वविद्यालयका आईटी विभाग प्रमुख प्रा.डा. सुदन झाले नेपाली परिवेशमा ३० वर्ष अघिको कम्प्युटर शिक्षाजस्तै अहिले सूचना प्रविधि क्षेत्र अन्तर्गत एआई, रोबास्टिक र कोडिङले बजार लिएको बताए । सूचना प्रविधिको क्षेत्रमा अहिले समग्र विश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमावान् जनशक्ति नेपालमा उत्पादन भएकामा गर्व गर्दै प्रा.डा. झाले समयको चापलाई दृष्टिगत गरी विद्यालय शिक्षामा आईटीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान र निर्देशक किरणकुमार श्रेष्ठले विद्यालय तथा कलेजहरूसँग समेत समन्वय गरी सूचना प्रविधिसँग सम्बन्धित सीप तथा शिक्षा प्रदान दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिए । हरेक वर्ष विद्यालयहरूसँगको सहयोग र सहकार्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि फाउन्डेसनले आवश्यक शैक्षिक गतिविधिसहित तालिम प्रदान गर्दै आएको बताउँदै उनले यस किसिमको सिकाइ र प्रतियोगिताबाट नेपाली विद्यार्थी लाभान्वित भई समग्र आईटी क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे ।

फाउन्डेसनले अर्को वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको स्थान अझ राम्रो बनाउन आगामी महिनादेखि नै चरणबद्ध रूपमा सिर्जनात्मक तथा नवप्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आयोजकका अनुसार जाकार्तामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका करिब एक हजार ५०० विद्यार्थीको सहभागिता रहेको थियो ।

Share News