बोनससहित टेलिकमको विश्वकप अफर, ग्राहकलाई निःशुल्क प्याकेज

काठमाडौं । नेपाल टेलिकमले आगामी फिफा वल्ड कप २०२६ लाई लक्षित गर्दै ‘फिफा वल्ड कप २०२६ टीभी प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीले आईपीटीभी ग्राहकलाई लक्षित गर्दै उक्त प्याकेज उपलब्ध गराउन लागेको हो ।

टेलिकमका अनुसार आईपीटीभी ग्राहकहरूले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।

एनटीटीभी ग्राहकहरूले टेलिभिजनमार्फत हिमालय स्पोर्ट्स च्यानल चयन गर्दा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । त्यसमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि प्राप्त हुने ओटीपी राखेपछि मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई सेवा तुरुन्त सक्रिय हुनेछ ।

यस्तै, ग्राहकहरूले नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सक्नेछन् ।

टेलिकमले जेठ २६ देखि साउन ३ सम्म विशेष बोनस अफर पनि ल्याएको छ । यस अवधिमा वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेटसहित प्रिमियम आईपीटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा अपग्रेड गर्ने ग्राहकहरूले फिफा वल्ड कप २०२६ टीभी प्याकेज निःशुल्क प्राप्त गर्नेछन् ।

उक्त बोनस प्याकेज लिनका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१५३# डायल गर्न सक्नेछन् ।

टेलिकमले उच्च गुणस्तरीय प्रविधिसँगै खेलकुद मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ यस्तो अफर ल्याएको जनाएको छ । थप जानकारीका लागि कम्पनीका ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिनेछ । 

Share News