काठमाडौं । बैंकिङ कसुर तथा चेक अनादरका १४ मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दामा फरार रहेका राजु मिजारलाई पक्राउ गरेको प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए ।
सीआईबीका सह-प्रवक्ता समेत रहेका खड्काका अनुसार देबी चन्द्र जोशी समेतको जाहेरीले वादी नेपाल सरकार रहेको बैंकिङ कसुर मुद्दामा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ (साबिक विष्णु गा.वि.स.-८) का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला अनुसार उनीमाथि बैंकिङ कसूरका १२ वटा र चेक अनादरका २ वटा गरी कुल १४ वटा मुद्दा कायम छन् । फैसलाअनुसार उनीमाथि जम्मा बिगो बापत २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ, जरिवाना बापत ४३ लाख २३ हजार ५३४ रुपैयाँ र क्षतिपूर्ति बापत १ लाख ७२ हजार ९४१ रुपैयाँ गरी कुल ३ करोड ३ लाख ५८ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
साथै उनलाई ९० दिन कैद सजाय समेत तोकिएको छ ।
प्रहरीले जेठ २५ गते काठमाडौं महानगरपालिका-४, धुम्बाराहीबाट उनलाई पक्राउ गरेको खड्काले बताए । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उनको भनाइ छ ।