बैंकिङ र बिमासहित २५ अत्यावश्यक सेवामा हडताल पूर्ण रूपमा निषेध

काठमाडौं । सरकारले बैंकिङ, बिमा लगायतका २५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरेको हो ।

सरकारका अनुसार सार्वजनिक सेवा अवरुद्ध हुन नदिन अत्यावश्यक सेवामा हडताल निषेध गरिएको हो । यस निर्णयअनुसार डाँक, तार तथा टेलिफोन सेवा, जल स्थल वा हवाईमार्गबाट यात्रु तथा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा तथा विमानको सञ्चालन र मर्मतसम्बन्धी सेवा, हवाई ग्राउन्ड, रेल्वे स्टेसन र सरकारी गोदाममा मालसामान व्यवस्थापनसँग सम्बन्धित सेवा अत्यावश्यक सेवाभित्र परेका छन् ।

त्यस्तै, सरकारी छापाखाना, रक्षा सामग्री उत्पादन तथा वितरण, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी आपूर्ति, होटल तथा पर्यटन आवास सेवा, पेट्रोलियम पदार्थ (एलपी ग्यास सहित) को आयात, ढुवानी र वितरण, अस्पताल तथा स्वास्थ्य सेवा, औषधि उत्पादन तथा बिक्री वितरण, फोहोरमैला व्यवस्थापन तथा सरसफाइ सेवा पनि यस सूचीमा समावेश छन् । 

यसैगरी बैंकिङ र बिमा सेवा, विद्युत् सेवा, दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति, मौसम तथा बाढी पूर्वानुमान सेवा, मास्क तथा ह्यान्ड स्यानिटाइजर सम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा, राहदानी सेवा र इन्टरनेट सेवामा समेत हडताल निषेध गरिएको छ ।

Share News