काठमाडौं । चालु आवको १० महिनामा १९ खर्ब बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० वैशाखसम्म विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।