तथ्यांकमा खुम्चिएको लघु जीवन बीमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना अर्थात् वैशाखसम्ममा सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनीहरूको व्यवसाय खुम्चिएको पाइएको छ । बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आवको तुलनामा कम्पनीहरूको व्यवसाय १.७२ प्रतिशतले खुम्चिएको देखिएको हो ।

चालु आवको वैशाखसम्ममा लघु जीवन बीमा कम्पनीहरूले ९६ करोड ५६ लाख रुपैयाँ कुल व्यवसाय संकलन गरेका छन् । जबकि गत आवको यही अवधिमा कम्पनीहरूले ९८ करोड २६ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका थिए ।

सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनीमध्ये एउटा बीमा कम्पनीको मात्रै व्यवसाय बढेको देखिन्छ । बाँकी २ कम्पनीको व्यवसायमा संकुचन आएको छ । 

चालु आवको वैशाखसम्ममा क्रेस्ट माइक्रोको व्यापार ३.५५ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको वैशाखसम्ममा ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा ३४ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। 

गार्डिएन माइक्रो लाइफले वैशाखसम्ममा ३४ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आवको यही अवधिमा ३७ करोड ३६ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । गत आवको तुलनामा चालु आवमा कम्पनीको व्यवसाय ७.२४ प्रतिशतले घटेको छ । 

लिवर्टी माइक्रोको व्यापार गत आवको वैशाखसम्ममा ०.९३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आवमा २६ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले २४ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । 

null

यद्यपि लघु जीवन बीमा कम्पनीहरूले भने व्यवसाय खुम्चिएको कुरालाई अस्वीकार गरेका छन् । कम्पनीहरूका अनुसार गत आर्थिक वर्षको तथ्यांकमा वैदेशिक रोजगार जीवन बीमाबाट प्राप्त प्रिमियमसमेत समावेश गरिएको थियो । तर चालु आर्थिक वर्षमा उक्त व्यवसायको तथ्यांक लघु जीवन बीमकको कारोबारमा नजोडिएकाले व्यवसाय घटेको जस्तो देखिएको हो ।

लघु जीवन बीमा कम्पनीहरूको वास्तविक व्यवसाय भने विस्तारकै क्रममा रहेको एक लघु जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बताउँछन् ।  उनका अनुसार कम्पनीहरूमा नयाँ बीमित थपिने क्रम निरन्तर बढिरहेको छ भने बीमाप्रतिको जनचेतना विस्तारसँगै ग्रामीण क्षेत्रमा समेत लघु जीवन बीमाप्रति आकर्षण बढ्दै गएको छ ।

लघु निर्जीवन बीमकको व्यापार ४० प्रतिशतले बढ्यो 

चालु आवको वैशाखसम्ममा लघु निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब ८ करोड १ लाख रुपैयाँ बराबरको व्यवसाय आर्जन गरेका छन् । गत आव २०८१/८२ को सोही अवधमा कम्पनीहरूले ७६ करोड ७९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका थिए । गत आवको तुलनामा चालु आवमा लघु निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ४०.८४ प्रतिशतले वृद्धि भएको छ।

हाल नेपालमा ४ वटा लघु निर्जीवन बीमक सञ्चालनमा छन् । १० महिनाको अवधिमा सबैभन्दा धेरै व्यवसाय प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गरेको छ । कम्पनीले ३१ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिको तुलनामा कम्पनीको व्यापार ५७.१७ प्रतिशतले वृद्धि भएको छ ।

वैशाखसम्ममा दोस्रो धेरै व्यवसाय आर्जन गर्ने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले वैशाखसम्ममा २७ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २१ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीको व्यापार २७.०६ प्रतिशतले बढेको छ ।

त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले अघिल्लो आवको वैशाखसम्ममा १८ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवमा २६ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा चालु आवमा ४३.१२ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, ट्रस्ट माइक्रो इन्स्योरेन्सले १० महिनामा २३ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनाको कम्पनीको व्यवसाय ३६.८३ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १७ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

null

नेपालमा लघु बीमा कम्पनीहरूले व्यावसायिक सञ्चालन थालेको करिब तीन वर्ष पुगेको छ । न्यून आय भएका, ग्रामीण तथा विपन्न वर्गका नागरिकलाई सरल, सुलभ र किफायती बीमा सेवा उपलब्ध गराउने तथा बीमाको पहुँच नपुगेका समुदायसम्म बीमा विस्तार गर्ने उद्देश्यसहित लघु बीमाको अवधारणा ल्याइएको थियो । तर, तीन वर्ष बितिसक्दा पनि अधिकांश लघु बीमा कम्पनीहरू अपेक्षाअनुसार ग्रामीण क्षेत्रमा केन्द्रित हुन सकेको देखिँदैन । 

बरु व्यवसाय विस्तार र प्रिमियम संकलनको प्रतिस्पर्धामा उनीहरू सहरकेन्द्रित नै देखिन्छ । 
लघु बीमा कम्पनीहरूले भने अपेक्षाअनुसार व्यवसाय विस्तार हुन नसकेको तथ्य स्वीकार गरेका छन् ।

पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अस्थिरता, विभिन्न आन्दोलन तथा बन्द–हड्तालका गतिविधि, प्राकृतिक विपत्तिजस्ता कारणले लक्षित समुदायसम्म पुगेर व्यवसाय विस्तार गर्न कठिनाइ भएको कम्पनीहरूको भनाइ छ ।

उनीहरूका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा बीमा सचेतना अभिवृद्धि गर्दै नयाँ ग्राहक थप्ने योजना रहे पनि प्रतिकूल परिस्थितिका कारण सोचेजति तीव्र गतिमा व्यवसाय विस्तार हुन सकेको छैन । साथै सीमित जनशक्ति, कमजोर वितरण सञ्जाल र बीमाप्रतिको न्यून जनचेतनाले समेत लघु बीमा व्यवसायको विस्तारमा चुनौती थपेको कम्पनीहरूको भनाइ छ ।

Share News