काठमाडौं । नेकपा एमालेले जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन तथा आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै मिसन जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
अभियानका लागि पार्टीले ६ ज नीति अघि सारेको छ भने संगठन विस्तारदेखि डिजिटल प्रचारसम्मका रणनीति समेटिएको ३१ पृष्ठ लामो अवधारणापत्र तयारसमेत गरेको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अभियानको मूल आधार ६ जको नीति हुने बताए ।
एमालेले अघि सारेको छ जमा जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य तथा सक्षम नेतृत्व तयार गरौं भन्ने रहेको उनले जानकारी दिए ।
पार्टीले अभियानमार्फत जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने, संगठनलाई थप सक्रिय बनाउने र निर्वाचन केन्द्रित तयारीलाई व्यवस्थित ढंगले अघि बढाउने रणनीति लिएको छ ।
एमालेले विशेषगरी डिजिटल संगठन निर्माण र प्रभावकारी प्रचारलाई प्राथमिकतामा राखेको प्रचार प्रमुख आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्न कार्यकर्तालाई निर्देशन दिइएको छ भने अल्गोरिदम र पर्सेप्सन म्यानेजमेन्टमा विशेष ध्यान दिन पनि भनिएको छ ।
अभियान सफल बनाउन पार्टीका सबै केन्द्रीय सदस्यलाई स्थानीय तहको जिम्मेवारी तोकिएको छ । केन्द्रीय सदस्य नपुगेका स्थानमा अन्य नेताहरूलाई समेत खटाइएको छ । जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा सक्रिय छन् वा छैनन् भन्ने विषयमा नियमित अनुगमनको व्यवस्था गरिएको पार्टीले जनाएको छ ।
पार्टी नेतृत्वले केन्द्रबाट खटिने नेताहरूलाई होटलमा बस्नुभन्दा जनताकै घरमा बस्न र उनीहरूसँग प्रत्यक्ष संवाद गर्न आग्रहसमेत गरेको छ । यसले जनताको वास्तविक भावना बुझ्न र पार्टीप्रति विश्वास पुनः स्थापित गर्न मद्दत पुग्ने एमालेको अपेक्षा रहेको छ ।
आचार्यका अनुसार मिसन जागरण अभियान स्थानीय तह तथा प्रदेश निर्वाचन सम्पन्न नहुँदासम्म निरन्तर सञ्चालन हुनेछ । अभियानका लागि तयार गरिएको अवधारणापत्रमा गत निर्वाचनको समीक्षा, पार्टीले भोग्नुपरेको पराजयका कारण, कार्यकर्ता तथा जनतामा देखिएको निराशा र त्यसबाट उत्पन्न राजनीतिक प्रभावको विश्लेषण गरिएको छ ।
दस्तावेजमा २०७४ सालको निर्वाचनपछि वाम गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी नेकपा गठनबाट उत्साहित बनेको जनमत टिकाउन नसक्दा र पछि एमाले विभाजन हुँदा निराश बढेको निष्कर्ष निकालिएको छ । त्यसको प्रभावस्वरूप मतदाता क्रमशः वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भएको एमालेको विश्लेषण छ ।
अवधारणापत्रमा भनिएको छ, २०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो ।
दस्तावेजले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उदयलाई पनि नेपालको अस्थिर राजनीतिक परिस्थिति र भूराजनीतिक प्रभावसँग जोडेर व्याख्या गरेको छ ।
एमालेले आफू नेतृत्वमा रहेका सरकारहरूले गरेका कामको प्रभावकारी प्रचार हुन नसक्दा त्यसको राजनीतिक लाभ लिन नसकेको निष्कर्ष पनि निकालेको छ । पार्टीका उपलब्धि र नीतिगत काम जनस्तरसम्म पर्याप्त रूपमा नपुग्दा निर्वाचनमा नकारात्मक असर परेको दस्तावेजमा उल्लेख छ ।
आचार्यका अनुसार अभियानको जिम्मेवारी पाएका नेताहरू वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट हुन, निर्वाचनमा भएको हारका कारण बुझ्न र भावी रणनीतिबारे समान धारणा बनाउन सकून् भन्ने उद्देश्यले विस्तृत तथा सरल भाषामा अवधारणापत्र तयार गरिएको हो ।
उनले विगतका राजनीतिक उतारचढाव, निर्वाचनपछिको राजनीतिक मूल्यांकन, पार्टी कमजोर हुनुका कारण, देशी–विदेशी प्रभाव, एमालेविरुद्ध सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोगजस्ता विषय दस्तावेजमा समेटिएको बताए ।
‘एमालेले अब गर्नुपर्ने डिजिटल तयारी, त्यसको प्रभावकारी प्रयोग, जनतासँगको सम्बन्ध सुधार, संगठन सुदृढीकरण र कमिटी प्रणाली सञ्चालनका विधिहरू समेत स्पष्ट रूपमा उल्लेख गरेर मिसन जागरणको दस्तावेज तयार गरेका छौं,’ आचार्यले भने ।
एमालेले मिसन जागरण अभियानलाई आगामी निर्वाचनको तयारी मात्र नभई जनतासँगको सम्बन्ध पुनस्र्थापना गर्ने दीर्घकालीन राजनीतिक अभियानका रूपमा अघि बढाउने जनाएको छ ।