आजको मौसम: यी क्षेत्रमा वर्षा पर्ने, यी क्षेत्रमा गर्मी हुने

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली भू-भागमा साथै कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ । देशको पहाडी भू-भागमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ ।

कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपात तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

Share News